कर्णालीमा सञ्‍चारमैत्री कानुन ल्याउँछु : मन्त्री सीता नेपाली

सुर्खेत । कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले प्रदेशले सञ्चारमैत्री कानुन ल्याइने बताएकी छन् ।

आइतवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री नेपालीले सञ्‍चारसँग सम्बन्धित कानुनहरु ल्याउँदा सञ्‍चार मैत्री बनाइने प्रतिवद्धता जनाइन् ।

विषय विज्ञ, सञ्‍चारकर्मी तथा सञ्‍चारसँग सम्वद्ध पक्षहरुसँग छलफल गरेर मात्रै कानुन ल्याइने मन्त्री नेपालीले बताइन् । उनले अहिले प्रदेश सरकार सञ्‍चारसँग सम्बन्धित ऐन कानुनहरु बनाउन लागेको बताउँदै पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा गर्न प्रतिवद्ध रहेको पनि उल्लेख गरिन् ।

प्रसारण ऐन संशोधनको तयारी भइरहेको, आमसञ्‍चार प्रतिष्ठान विधेयक संसदमा दर्ता भएको, लोक कल्याणकारी विज्ञापन नीतिको कार्यविधि बनाउने तयारीमा प्रदेश सरकार रहेको मन्त्री नेपालीले बताइन् ।

उनले सत्य र तथ्यको आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरुलाई आग्रह समेत गरिन् । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि स्थानीय तथा प्रदेश सरकारलगायत सवै निकायले ध्यान दिनुपर्ने बताए ।

उनले सञ्‍चारमैत्री कानुन ल्याउन प्रदेश सरकारलाई आग्रह गर्दै पत्रकारहरुको क्षमता अभिवृद्धि तथा गुणस्तर वृद्धिका लागि पहल भइरहेको जानकारी दिए ।

२४,श्रावण.२०७८,आईतवार १५:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्