रुपन्देही । लुम्बिनी प्रदेशको सत्तापक्ष नेकपा एमालेले साउन २७ गतेका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशन संविधानविपरीत भनिरहेको बेला प्रदेश प्रमुख अमिक शेरचनले संविधानअनुसार नै अधिवेशन बोलाइएको बताएका छन्
आइतबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको तेस्रो स्थापना दिवसमा बोल्दै शेरचनले संवैधानिक रुपमै अधिवेशन बोलाइएको बताएका हुन् । प्रतिपक्षी सांसदहरुले अधिवेशनका लागि आग्रह गरे अनुसार आफूले अधिवेशन आह्वान गरेको शेरचनको भनाइ छ ।
प्रदेश प्रमुख शेरचनले प्रदेश सरकारलाई बहुमत सावित गर्न आग्रह गर्दै आफू प्रदेश प्रमुखमा पदवहाली भइरहँदा सरकारका प्रतिनिधिको उपस्थिति नभएकोप्रति दुुःखेसो गरे ।
उनले लुम्बिनी प्रदेशमा पछिल्लो समय देखिएको चुनौती र समस्या संवैधानिक रहेको र सोहीअनुरुप समाधान हुने बताए । सत्तापक्ष र प्रतिपक्षका बीचमा बहुमत र अल्पमतको नाममा देखिएका समस्याको समाधान संवैधानिक प्रकृयाबाट नै समाधान हुने उनले बताए ।
उनले प्रदेश प्रमुखमा नियुक्ति भएसंगै कुनैपनि दलको सदस्य नभएकोले कुनैपनि दलको नजिक रहेर काम नगर्ने भन्दै आफूलाई सत्तापक्ष र प्रतिपक्षका रुपमा नहेर्न पनि आग्रह गरे ।
लुम्बिनी प्रदेश प्रमुख भएर बुटवल आएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रदेश प्रमुख शेरचनले निषेधको राजनीतिबाट समस्याको समाधान नहुने भएकोले सहमतीय प्रणालीको आधारमा अगाडि बढ्न दलहरुलाई सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्