काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गरिने प्रस्ताव पारित गरेको हो, जसमा अध्यक्ष र महासचिव बाहेक सबै सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।
‘अध्यक्ष र महासचिव बाहेक अरु पद हलबाट निर्वाचित नगर्ने प्रस्ताव ल्याइएको छ । यो प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेमा छलफल खुला हुन्छ’, एक नेताले भने ।
एमालेले आठौं महाधिवेशनबाट हलबाटै निर्वाचित बहुपदीय संरचना अभ्यास गर्दै आएको छ । आठौं र नवौं महाधिवेशनमा सवै पदाधिकारी हलबाटै निर्वाचित भएका थिए ।
तर पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग एकताको प्रयास चलिरहेका बेला एकलौटी रुपमा विधान अधिवेशन गर्ने तयारमिा जुटेको ओली पक्षले अध्यक्ष र महासचिव बाहेक अन्य पदपछि मनोनित गर्ने प्रस्ताव अघि सारेको छ । विधान संशोधन गरेर पार्टीबाट बरिष्ठ नेता नराख्ने प्रस्ताव पनि अगाडि बढाइएको छ । बहुकेन्द्र निर्माण भएकाले बरिष्ठ नेताको पद नै नराख्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखिने भएको छ ।
निवर्तमान अध्यक्ष पार्टीको बरिष्ठ नेता रहने प्रचलन एमालेमा छ । तर आठौं महाधिवशेनपछि माधवकुमार नेपाल र नवौं महाधिवेशनपछि झलनाथ खनाल बरिष्ठ नेता रहे ।
तर आठौंबाट अध्यक्षमा पराजित ओली र नवौंमा पराजित माधव नेपाललाई पनि बरिष्ठ नेता मनोनित गरिएको छ । यस्तै पदाधिकारी संख्या घटाउने प्रस्ताव पनि ल्याइएको छ ।
एमालेमा एक अध्यक्ष, एक बरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव र पाँच सचिव रहने व्यवस्था छ । नवौं महाधिवेशन पछि मुलुक संघीयता संरचनामा गएकाले अञ्चल समन्वय कमिटीको ठाउँमा प्रदेश संगठन कमिटी प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्