सुर्खेत । नेपालकै लोपोन्मुख समूदायको रुपमा रहेको राउटे समुदायका तीन जनाको एक महिनाभित्र मृत्यु भएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वस्तीमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेको छ ।
राउटे समुदायका दलबहादुर शाही, मानसिंह शाहीको एक साताको अन्तरमा मृत्यु भएको थियो । त्यसअघि गुर्भाकोटमा एक बालकको मृत्यु भएपछि उनीहरु सल्यान र सुर्खेतको सीमानामा पर्ने कालीमाटी गाउँपालिकाको काल्चेमा बसाईं सरेका थिए ।
‘आज हामीले राउटे समुदायका ५० जनाभन्दा बढीको स्वास्थ्यजाँच गरेका छौं । सबैको जाँच गर्न खोज्दा धेरै आएनन्,’ जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले भने ।
वाग्लेका अनुसार धेरै बालबालिकाहरु कुपोषित छन् । राउटे समुदायमा बढी घाउचोट लाग्ने गरेको पाइएको छ ।
‘बालबालिकालाई हामीले जुकाको औषधि पनि खुवाएका छौं,’ उनले भने, ‘उनीहरुमा छालासम्वन्धी, उच्च रक्तचाप र मदिरा मुख्य समस्या देखिएको छ ।’
त्यहाँ गैरसरकारी संस्थाबाट स्वास्थ्यकर्मी खटाइएको हुँदा बाँकी औषधि उनीहरुकै जिम्मामा छोडेर फर्केको वाग्लेले बताए । उनले विशेषज्ञ डाक्टरसहितको टोली उनीहरुको स्वास्थ्य जाँचमा गएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्