पक्कै पनि हामी शब्दकोश रित्याउने गरी गाली र विरोधका शब्दसहित सड़कमा उत्रिनेछौं

Anjita Karki
नारायण गाउँले, बेलायत

सोच्नुस् त, भारत या मालद्वीपका केन्द्रीय ब्याङ्कका भर्खरै रिटायर्ड गभर्नरलाई नेपाल राष्ट्र ब्याङ्कको गभर्नर नियुक्त गर्ने निर्णय भयो भने हाम्रो प्रतिक्रिया कस्तो होला ?
अथवा बङ्गलादेश या श्रीलङ्काका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अर्थशास्त्रीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइयो भने के होला ?
पक्कै पनि हामी शब्दकोश रित्याउने गरी गाली र विरोधका शब्दसहित सड़कमा उत्रिनेछौं ।
तर, हामीले विकसित भनेका देशमा यस्तो प्रचलन सामान्य देखिन्छ । उदाहरणका लागि बेलायतलाई लिऊँ, पाँच वर्ष ब्याङ्क अफ क्यानडाको गभर्नर भएका ‘मार्क जोसेफ़ कार्नी’लाई सन् २०१३ मा ब्याङ्क अफ इङ्गल्याण्डको गभर्नर बनाइएको थियो र उनले झन्डै सात वर्ष सो पदमा बसेर गतसाल मात्र बिदा लिए । बेलायतको आर्थिक नीतिनिर्माण र वित्तीय व्यवस्थापनमा त्यो पदको ठूलो प्रभावमात्र होइन, हस्तक्षेपकारी भूमिका नै हुन्छ । त्यस्तो हस्तक्षेपलाई विदेशी या अङ्गीकृत नागरिकको रूपमा होइन, विज्ञको हस्तक्षेपका रूपमा लिइयो ।
बेलायती अर्थतन्त्र र आवागमनको मुटु मानिने हिथ्रो एअरपोर्टको सञ्चालन गर्ने कम्पनीमा चीन, स्पेनदेखि सिङ्गापुर सरकारसम्मको लगानी छ ।
विश्वका उत्कृष्ट विश्वविद्यालयदेखि अन्तर्राष्ट्रिय स्तरका विज्ञ र जनशक्ति भएको बेलायतले युरोपियन युनियनबाट अलग हुने निर्णय लगत्तै आवश्यक अलग सन्धिको गहन छलफल र नेगोशिएशनका लागि सरकारसित तत्काल पर्याप्त विज्ञ नभएको स्वीकार गरेको थियो । प्रायः सबै मन्त्रीहरू विश्वविद्यालयका स्नातक भए पनि तिनले विज्ञहरूको विस्थापन गर्न सक्दैनन् भन्ने देखिन्थ्यो ।
अब लागौं नेपालतर्फ । हामीकहाँ अन्तर्राष्ट्रिय स्तरको विज्ञ खोजेर राष्ट्रिय आयोजना या निगमहरूमा नियुक्ति दिने भन्ने कुरो हाललाई अलि टाढाको कुरो होला तर देशभित्रै पनि परीक्षित व्यवस्थापक, विज्ञ र प्रशासकहरूको सट्टा झण्डा बोक्नेहरूको मात्रै नियुक्ति हुनु र तत्तत् दलका समर्थकले आँखा चिम्लेर समर्थन जनाउने गर्नु दुर्भाग्यपूर्ण छ । सही मान्छे सही ठाउँमा नभई कुनै पनि क्षेत्रमा सफलता हासिल हुँदैन ।
कुलमान घिसिङ् एउटा सफल व्यवस्थापकको छवि बनाएका परीक्षित व्यक्ति हुन् । अन्य देशमा भएको भए कुनै सरकारी या ठूलो निजी कम्पनीको नियुक्तिमा उनी पहिलो रोजाइमा हुन्थे । तर हामी कहाँ गुरु प्रसाद भट्टराईहरू पहिलो रोजाइमा हुन्छन् । जिन्दगीभरि राजनीति मात्रै गरेको व्यक्ति मन्त्री नबनेर कुनै क्षेत्रमा सफल अनुभव सँगालेको व्यक्ति बन्यो भने अन्याय भएको अनुभव हामीलाई हुन्छ । हामी राष्ट्रियताको चर्को कुरा त गर्छौं तर हाम्रो पार्टी हाम्रा लागि राष्ट्रभन्दा माथि हुन्छ ।
हितमानले डुबाउने र कुलमानले उकास्ने मात्रै गर्छन् भन्ने कुरो होइन । तर हाम्रा नियुक्ति र व्याख्याले त्यस्तो अर्थ लाग्न गएको देखिन्छ । राम्रो गर्ने चाहना सबैको हुन्छ । केहीमा अलि बढ़ी ‘तरिका’ हुन्छ । त्यत्ति हो । र त्यस्तो तरिका भएका व्यक्तिलाई संस्था या कम्पनीमा ल्याउँदा एउटा ‘पोजिटिभ भाइव’ पैदा हुन्छ र त्यसको असर नतिजामा हुन्छ ।
एउटा विद्युत् प्राधिकरणमा कुलमान आएर मात्रै देश बन्दैन । संस्कार फेरिन्न । हाम्रा सबै नियुक्तिहरू दलदासबाट माथि उठेर विज्ञहरूको तहसम्म पुग्नुपर्छ । पुग्नेबित्तिकै कायापलट हुन्छ भन्ने पनि होइन । सुरुवात हुन्छ । हामीले त सुरु पनि गरेका छैनौं ।
हितेन्द्रलाई ससम्मान पदस्थापन गरेर कुलमानको पुनर्नियुक्ति एउटा सकारात्मक सन्देश पक्कै हो । तर यो अपवाद मात्रै हो भन्ने धेरैलाई लागेको छ ।
कुलमानजीलाई नयाँ कार्यकालको शुभकामना !
फेसबुकवालबाट साभार

२७,श्रावण.२०७८,बुधबार १७:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: