काठमाडौं । भारतको हिमाचल प्रान्तको किन्नौर जिल्लाको भावानगरमा पहिरो जाँदा बस, ट्रकलगायतका केही सवारीसाधन पुरिएका छन् । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार बुधबार अचानक पहिरो गएको हो ।
हिमाचलका मुख्यमन्त्री जयराम ठाकुरले यो घटनाबारे जानकारी दिँदै पहिरोमा पुरिएका मानिसलाई सुरक्षित निकाल्न हरसम्भव प्रयास भइरहेको बताएका छन् । उनले यो घटनाबाट प्रभावित हुने मानिसलाई आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् ।
हिमाचलको इमर्जेन्सी अपरेसन सेन्टरका अनुसार यो पहिरोमा कम्तीमा २५–३० जना मानिसहरु पुरिएका छन् । स्थानीय समयअनुसार १२ देखि साढे १२ बजे यो घटना भएको हो ।
पहिरो गएसँगै उद्धारको काम सुरु गरिएको अधिकारीहरुले बताएका छन् । स्थानीय प्रशासनका अनुसार अहिले पनि माथिबाट ढुङ्गा खसिरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो घटनाबारे जानकारी लिँदै राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्