लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार बनाउन दिएको समय बिहीबार अपरान्ह ३ बजे सकिँदैछ।
नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर बुधबार राजीनामा बुझाएका थिए।
पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शेरचनले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि समय दिएका छन्।
बिहीबार अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूमा आह्वान गरेका छन्।
लुम्बिनीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ। उक्त गठबन्धनबाट माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव थियो। केसी मुख्यमन्त्री हुने गरी आज दाबी पेश गर्न लागिएको छ।
गठबन्धनका तर्फबाट ४१ जनाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी छ। एमालेका पक्षमा लुम्बिनीमा ३८ सांसद छन्। लुम्बिनीमा सरकार गठनका लागि ४१ सदस्य भए बहुमत पुग्छ।
पोखरेल अल्पमतमा परेपछि बुधबार राजीनामा दिएका थिए। उनीविरूद्ध विपक्षी गठबन्धनका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यो प्रस्ताव छलफलका लागि प्रदेश सभामा पेश समेत भइसकेको थियो।
प्रतिक्रिया दिनुहोस्