सेती प्रादेशिक अस्पतालमा बढ्न थाले कोरोनाका गम्भीर बिरामी

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा जटिल समस्या लिएर उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

असारमा गम्भीर खालका संक्रमित नदेखिएपनि साउनको पहिलो सातादेखि अस्पतालमा गम्भीर खालका समस्या भएका संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेको हो ।

प्रदेशकै रेफरल अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले आईसीयू, भेन्टिलेटर र अक्सिजन सपोर्टमा राख्नुपर्ने संक्रमित बढेका छन् । बुधबार मात्र अस्पतालमा ८ जना संक्रमित भर्ना भएका छन् । यो सँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या २७ पुगेको छ । जबकी अघिल्लो दिन (मंगलबार) कोभिड अस्थायी अस्पतालमा १९ जना संक्रमितको मात्रै उपचार भइरहेको थियो ।

बुधबारसम्म अस्पताल भर्ना भएका २७ मध्ये ८ जना बाहेक अन्य १९ जना जटिल प्रकृतिका संक्रमित छन् । ‘असार अन्तिमतिर अस्पतालमा उपचारका लागि फाट्ट-फुट्ट मात्र संक्रमितहरु आउने गरेका थिए,’ अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘साउनदेखि गम्भीर संक्रमितको संख्या बढ्न थालेको हो । अहिले बढीजसो अक्सिजन सपोर्ट चाहिने संक्रमित छन्।’

श्रेष्ठका अनुसार चार जनाको भेन्टिलेटर, दुईजनाको आईसीयूमा उपचार भइरहेको छ भने पाँच जनालाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । अन्य १० जना संक्रमितको पनि अक्सिजन सपोर्टमा उपचार भइरहेको छ।

पछिल्लो समय १० देखि १४ वर्ष उमेर समूहका बालबालिका पनि संक्रमित भएर उपचारका लागि अस्पताल पुग्न थालेको श्रेष्ठ बताउँछन् । तर अक्सिजन सपोर्ट बाहेक बालबालिकालाई आईसीयू र भेन्टिलेटरमा राखिएका उदाहरण भने छैन ।

मृत्यु हुनेक्रम पनि बढ्‍यो

झण्डै एक महिनासम्म कोरोना संक्रमणबाट मानवीय क्षति नव्यहोरेको सुदूरपश्चिम प्रदेशमा गम्भीर संक्रमित बढेसँगै मृत्यु हुने क्रम पनि सुरु भएको छ । अस्पतालमा २२ साउनमा एकैदिन दुई जना संक्रमितको मृत्यु भएको छ भने २५ साउनमा पनि एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट ज्यान गुमाउनेमा दुई जना युवक छन् भने एक वृद्धा रहेकी छन् । २२ साउनमा डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका-१ का ३३ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

२५ साउनमा कैलालीको जोशीपुर गाउँपालिका-२ का २८ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले यसलाई गम्भीर प्रकृतिको संक्रमण बृद्धिसँगै अगामी दिनमा मृत्युदर पनि बढ्न सक्ने संकेतका रुपमा बुझेको छ ।

‘संक्रमितका लक्षण विगतमा भन्दा फरक छन्’

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेलले पछिल्लो चार सातायता कोरोनाका गम्भीर संक्रमितको संख्या बृद्धि हुँदै गएको बताउँदै विगतमा भन्दा लक्षण पनि फरक देखिन थालेको जनाए ।

‘बितेको ३÷४ सातायता कोरोनाका केसहरु बढ्दो क्रममा छन् । त्यसमा जटिल खालका समस्या भएर अस्पताल भर्ना हुने क्रम पनि बढेको देखिन्छ,’ डा.शर्माले अनलाइनखबरसँग भने, ‘अहिलेका संक्रमितहरुमा विगतमा भन्दा भिन्नै खालका लक्षणहरु देखा पर्न थालेका छन् । ज्वरो नआएर पनि खाना खान मन नहुने, शरीर अत्यधिक दु:ख्ने, खानामा अपच हुने, झाडा पाखाला लाग्ने जस्ता लक्षण बढी देखिएका छन् ।’

उनले बढिजसो मानिस कलेजो र आन्द्राको समस्या लिएर पनि अस्पताल आउने गरेको बताउँदै विगतमा जस्तै ज्वरो आउने, घाँटी दुख्ने, स्वाद तथा गन्ध हराउने लक्षण नभएकाहरुमा पनि संक्रमण देखिएकाले सचेत रहेन सुझाव दिए ।

‘अहिले कोरोनाका लक्षणहरु फेरिएका छन्। मैले माथि उल्लेख गरेजस्तै लक्षण भएकाहरुमा बढिजसो संक्रमणको सम्भावना धेरै हुन्छ,’ उनले भने, ‘त्यसैले यस्ता खालका समस्या देखिएमा जथाभावी औषधी सेवन नगेर चेकजाँच र चिकित्सकको सल्लाह लिनुपर्छ ।’

डाक्टर शर्माले संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्ने, बेला बेला साबुन पानीले हात धुने, भीडभाडमा नजाने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न समेत सुझाव दिएका छन् ।

२८,श्रावण.२०७८,बिहीबार १३:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्