परीक्षा अगावै प्रश्न–पत्र बाहिरिएको पुष्टि भएपछि नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द

काठमाडौं । परीक्षा अगावै प्रश्न–पत्र बाहिरिएको पुष्टि भएपछि नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द भएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानु अघि लिइने प्रारम्भिक छनौट परीक्षा रद्द भएको हो ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वको छानविन समितिले प्रश्न–पत्र बाहिरिएको पुष्टि गर्दै तीन प्रहरीलाई बर्खास्त र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । लगत्तै परीक्षा पनि रद्द गरिएको हो ।

‘विशेष कारणले’ परीक्षा रद्द भएको भन्दै प्रहरी प्रधान कार्यालयले मातहतका युनिटमा पत्रचार गरेको छ । पत्रमा परीक्षाको मिति तय भएपश्चात जानकारी गराइने र सहभागी हुनेलाई तयारी अवस्थामा राख्न पनि भनिएको छ ।

यूएन शाखाले १५ र १६ साउनमा लिएको प्रि–स्याट परीक्षाको प्रश्न–पत्र युएन शाखाबाटै चोरिएको थियो । प्रहरी परिचर सुरेश बमले प्रश्न–पत्र चोरी गरेर साइबर ब्युरोका हवल्दार कुमार शाहलाई पठाएका थिए ।

शाहमार्फत सई जनकबहादुर थापासम्म प्रश्न पत्र पुगेको थियो । थापाले अन्य व्यक्तिहरुलाई फोटोकपी गरेर प्रश्न–पत्र बाँडेका थिए । तीनै जनालाई बर्खास्त गर्न छानविन समितिको सिफारिस छ ।

२८,श्रावण.२०७८,बिहीबार १७:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्