सेयर बजारमा प्रभाव पार्ने मौद्रिक नीतिका यी विषय

काठमाडौं । मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिका केही व्यवस्थाले सेयर बजारलाई नकारात्मक असर पर्न सक्ने देखिएको छ। केही व्यवस्था सकारात्मक प्रभाव पार्ने खालका पनि छन्।

बजारलाई नकारात्मक प्रभाव पार्न सक्ने एउटा व्यवस्था हो– सेयर धितोमा अधिकतम कर्जा सीमा तोकिनु। एउटा बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई सेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने भएका छन्।

त्यस्तै सेयर धितो राखेर एक व्यक्ति वा संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाइने छ। सेयर धितो राखेर कसैले १२ करोड रुपैयाँ भन्दा बढी ऋण लिन पाउने छैन। यसले ठूला तथा संस्थागत सेयर लगानीकर्ताको मनोवलमा असर पार्न सक्नेछ।

तर मौद्रिक नीतिमा सेयर धितोमा दिइने कर्जाको दर र गणनाको व्यवस्था भने पुरानै कायम राखिएको छ। शेयर धितोमा पछिल्लो १२० दिनको औसत मूल्यलाई आधार मानेर कुल सेयर मूल्यको ७० प्रतिशतसम्म ऋण पाइने गरेको छ।

तरलता संकुचन हुँदै गएको अवस्था र सेयरको मूल्य समेत उचालिएको अवस्थामा पनि पुरानो व्यवस्थालाई नै निरन्तरता दिनुले बजारलाई सकारात्मक प्रभाव नै दिन खाेजेको छ।

राष्ट्र बैंकले यस आर्थिक वर्ष तरलतामा चाप परी ब्याजदरमा दवाव पर्ने संकेत गरेको छ। यसले बजार प्रभावित हुनेछ। सामान्यतः ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने हुन्छ।

ब्याजदर बढ्ने अनुमानका बीच ब्याजदर करिडोरको माथिल्लो सीमा ५ प्रतिशतलाई यथावत राखेर तल्लो सीमा १ प्रतिशतलाई बढाएर २ प्रतिशत कायम गरिएको छ।

तल्लो सीमा बढाउनुले राष्ट्र बैंक ब्याजदर बढ्नेमा स्पष्ट छ। त्यस्तै नीतिग रुपमा रहेको रिपोदरलाई ३ प्रतिशतबाट बढाएर ३.५ प्रतिशत कायम गरिने मौद्रिक नीतिमा उल्लेख छ।

त्यति मात्रै होइन, बैंकहरुलाई आगामी असार मसान्तसम्म सिडी रेसियो ९० प्रतिशतको सीमाभित्र राख्नुपर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ।

यसले लगानीयोग्य रकमको अझ अभाव चर्किने र ब्याजदर बढ्ने संकेत देखिएकाले बजारलाई नकारात्मक असर पार्न सक्ने छ।

हाल बैंकिङ प्रणालीमा तरलता अभाव भइसकेको छ। तरलता अभाव हटाउन राष्ट्र बैंकले विकल्प ल्याउन सक्ने अनुमान थियो। त्यसविपरित झन् संकुचन हुने खालको नीति आएको छ।

३०,श्रावण.२०७८,शनिबार ११:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्