सबै वडामा आफ्नै भवन बनाउँदै काठमाडौं महानगर, १६ नम्बर वडाको भवन शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा सुविधासम्पन्न कार्यालय भवन निर्माण कार्यलाई तिव्रता दिएको छ । आफ्नै कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह गर्ने नीति अनुरुप महानगरपालिकाले भवन निर्माण कार्यलाई तिव्रता दिएको हो । हाल महानगरका धेरैजसो वडाले भाडाको भवनबाट सेवा दिँदै आएका छन् ।

यसैअनुसार शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ को भवन निर्माणका लागि शिलान्यास भएको छ । महानगरपालिकाकै नाममा २० आना बढी जग्गा खरिद गरेर भवन निर्माणको शिलान्यास भएको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । जग्गा नै खरिद गरेर कार्यालय भवन बनाउन लागिएको वडा नम्बर १६ नै पहिलो भएको रिजालको भनाइ छ ।

बालाजु–चमतीमा निर्माण गर्न लागिएको कार्यालय भवनको शिलान्यास शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक कार्यक्रमका बीच गरे । सो कार्यक्रममा बोल्दै शाक्यले सबै वडामा कार्यालय भवन निर्माण गर्ने उद्देश्यका साथ वडा नम्बर १६ मा आज शिलान्यास गरिएको बताउँदै तोकिएको समयमा काम सम्पन्न गर्न आग्रह गरे । उनले काठमाडौंलाई आधुनिक शहर बनाउन महानगर क्रियाशील रहेको बताउँदै त्यसैअनुरुप विभिन्न पूर्वाधार विकास र विकास निर्माणका कामहरु गरिरहेको बताए ।

यस्तै उपमेयर हरिप्रभा खड्कीले वडाको आफ्नै भवन हुनु खुसीको कुरा भएको बताइन् । उनले १५ नम्बर वडाले जमिन समेत आफै खरिद गरेर नागरिकलाई सेवा दिन कार्यालय भवन बनाउने प्रक्रिया थाल्नु प्रशंसनीय कार्य भएको समेत बताइन् ।

यस्तै वडाध्यक्ष रिजालले करिब ८ करोड ५० लाखमा जग्गा खरिद गरेर वडा भवन निर्माण गर्न लागिएको जानकारी दिँदै निर्माण कम्पनीसँग २०७९ फागुन १५ गतेभित्र काम सम्पन्न गरिसक्ने गरी सम्झौता भएको बताए । त्यसका लागि गौरी पार्वती/के एण्ड केजी/रमित जेरीसँग ६ करोड ६६ लाख ५७ हजार २०७ रुपैयाँमा सम्झौता भएको छ भने सबै गरी भवन निर्माणमा मात्र ११ करोड ५२ लाख खर्च हुने अनुमान गरिएको छ ।

जग्गा र भवनमा गरी २० करोड बढी खर्च हुने अनुमान महानगरपालिकाको छ । काठमाडौंको मौलिक कला संस्कृति झल्कने गरी निर्माण हुने अत्याधुनिक भवन साढे ६ तलाको हुनुका साथै भवन अपाङ्गमैत्री हुनेछ ।

३०,श्रावण.२०७८,शनिबार १२:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्