घाटामा रहेका सार्वजनिक संस्थानबारे सोच्नेबेला आयोः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले घाटामा रहेका सार्वजनिक संस्थानबारे सोच्नेबेला आएको बताएका छन् । घाटामा रहेका सार्वजनिक संस्थानहरुको कुरा अब धेरै सुन्न नसकिने भन्दै उनले तिनलाई नाफामा संचालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको खाँचो औंल्याए ।

“सार्वजनिक संस्थानको घाटाको कुरा कति वर्षसम्म उच्चारण गरिरहने हो ? कति वर्षसम्म घाटाको रिपोर्ट देखाएर बस्ने हो ? ” आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने ।

संस्थानहरुलाई आत्मनिर्भर बनाएर नाफामा चलाउनु पर्ने बताउँदै उनले नत्रभने यसबारे सोच्नुपर्ने धारणा राखे ।
शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताए ।

उनले राज्यले गर्ने लगानीको प्रतिफल गरिब जनताको मुहारमा झल्किए मात्र त्यसको अर्थ हुने धारणा व्यक्त गरे । देशको अहिलेको आवश्यकता भनेको उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु रहेको भन्दै उनले सोअनुरुपको नीति र त्यसको कार्यान्वयनमा जोड दिए ।

बैदेशिक रोजगारीबाट आर्जन गरेको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नेगरी नीति बनाउनुपर्ने भन्दै मन्त्री शर्माले त्यसमा लाग्न पनि निर्देशन दिए ।

मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति असन्तुष्टि जनाउदै मन्त्री शर्माले त्यो विषयलाई गम्भीर रुपमा लिन आग्रह गरे । मन्त्रालय वा संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ गर्ने कार्य आइन्दा नगर्न सचेत गराए ।

३२,श्रावण.२०७८,सोमबार १७:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्