डोटीमा बरामद भएको चोरीको एक किलो सुन कहाँ गयो ?

Ashish Gautam

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले दिपायल–सिलगढी नगरपालिका–४ कुलपातेमा एक महिलाबाट १७ लाख ४७ हजार रुपैयाँ बरामद गर्‍यो । केआई सिंह गाउँपालिका–६ की ५८ वर्षीया काली भुलले लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त रकम बरामद गरेको प्रहरी बताउँछ ।

महिलासँग थप सोधपुछ गर्दा एक किलो एक सय ग्राम सुन घरमा लुकाएर राखेको खुल्न आयो । प्रहरीले रकम र सुन दुवै नियमानुसार मुचुल्का गरी कब्जामा लियो ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त सुन र नगद रुपैयाँको विषयमा चर्चा परिचर्चा भइरहेको छ । बरामद गरेको सुन र नगद प्रहरी आफैंले खाएको, पीडितले नपाएका गुनासा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका छन् । प्रहरीले उक्त रकम र सुन सम्बन्धित व्यक्तिलाई बुझाएको दाबी गर्दै आएको छ, तर कुन व्यक्तिलाई बुझाएको हो, नाम खुलाउन सकेको छैन ।

के हो घटना ?

आफ्नो घरमा राखिएको सुन र नगद गरी ८२ लाख भारतीय रुपैयाँ बराबरको चोरी भएको भन्दै भारतको मुम्बईका रवीन्द्र मुरलीधर इमान्दारले २०७७ असोज १८ (२०२० अक्टोबर ४) महाराष्ट्रको खण्डेश्वर थानमा किटानी जाहेरी दिए । उजुरीपछि इन्टरपोलमार्फत नेपाल प्रहरीलाई खोजतलासका लागि खबर प्राप्त भयो । सोही खबर डोटीका तत्कालीन प्रहरी प्रमुख जनकराज पाण्डेलाई आयो ।

प्रहरीले उक्त घटनाको विषयमा अनुसन्धान गरिरह्यो । २०७७ साल माघ १४ गते कालीले शरीरमा लुकाएर कैलालीको धनगढीतर्फ लैजाँदै गरेको उक्त रकम सुराकीका आधारमा प्रहरीले बरामद गर्‍यो । रकम बरामदपछि प्रहरीले कालीलाई सोधपुछ गर्दा उनले केआई सिंह गाउँपालिका–६ स्थित आफ्नै घरमा बेडमुनि सुन लुकाएर राखेको स्वीकार गरिन् । प्रहरीले घटनास्थल पुगेर एक सय ग्रामका ७ थान र दुई सय ग्रामका दुई थान गरी एक हजार एक सय ग्राम सुन बरामद गर्‍यो । बरामद गरेको सुन र नगद रुपैयाँ स्थानीय तहका जनप्रतिनिधि समेतको रोहवरमा सरजमिन मुचुल्का तयार गरी जिल्ला प्रहरी कार्यालय ल्याइयो ।

यो पनि पढ्नुहोस  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको केन्द्रीय समिति बैठक महाराजगञ्जमा सुरु

प्रहरीका अनुसार नियन्त्रमा लिइएको धातु सुन हो कि होइन भन्ने जाँच्नका लागि २०७७ फागुन २० गते सुनचाँदी व्यवसायी संघ, डोटीलाई परीक्षण गरिदिन पत्राचार गर्‍यो । सोही दिन सुनचाँदी व्यवसायी संघले उक्त धातु सुन भएको प्रमाणित गरी जिल्ला प्रहरी कार्यालय डोटीलाई पत्राचार गर्‍यो ।

जिल्ला प्रहरी कार्यालय डोटीले नोटका नम्बरहरु सहित मुचुल्का तयार गरी २०७७ फागुन २३ गते सुन र नगद प्रहरी प्रधान कार्यालयमा पठाएको देखिन्छ । उक्त रकम र सुन बुझाउन नायब उपरीक्षक इन्द्रबहादुर मल्ललाई फागुन २४ मा काजमा खटाएको पत्र प्रहरीसँग छ ।

प्रहरी नायब उपरीक्षक मल्लले सोही दिन प्रहरी नायब निरीक्षक रामबहादुर खत्री, प्रहरी सहायक निरीक्षक सागर लामिछाने र प्रहरी जवान अनुपकुमार मगरलाई साक्षी राखी प्रहरी प्रधान कार्यालयका लेखापाल प्रहरी नायब निरीक्षक रामचन्द्र बस्नेतलाई सुन र नगद हस्तान्तरण गरी भरपाई लिएको देखिएको छ । २६ गते मल्ल फिर्ता भएको देखिएको छ ।

बरामद भएको नगद र सुन प्रहरी प्रधान कार्यालयले भारतीय राजदूतावास मार्फत आएको उजुरीकर्ताको अधिकृत प्रतिनिधिलाई २०७७ चैत्र ८ गते बुझाएको प्रहरीको दाबी छ ।

विभिन्न सञ्चारमाध्यममा पीडितले नगद र सुन नपाएको भन्ने समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय डोटीले साउन ८ गते प्रहरी प्रधान कार्यालयलाई लिखित पत्राचार गरी थप सूचना माग गरेको देखिन्छ । प्रहरी प्रधान कार्यालयले पुनः भारतीय दूतावासमार्फत आएको उजुरीकर्ताको अधिकृत प्रतिनिधिलाई सामग्री बुझाइसकेको पत्र पठाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्ल बताउँछन् ।

तर प्रहरी प्रधान कार्यालयले नगद र सुन बुझ्ने व्यक्ति को हो भन्ने नखुलाएको मल्लले जानकारी दिए ।

‘हामीले बरामद गरेको सामान प्रधान कार्यालयमा बुझाएका छौं, हामीसँग त्यसको प्रमाण छ,’ मल्ल भन्छन्, ‘प्रधान कार्यालयले उक्त रकम सम्बन्धित व्यक्तिका आधिकारिक प्रतिनिधिलाई बुझाइसकेको जानकारी हामीलाई दिएको छ ।’ उनले कुन व्यक्तिले बुझ्यो भन्ने कुराको आफूलाई जानकारी नभएको बताए । सबै तथ्य सार्वजनिक हुँदाहुँदै पनि प्रहरीलाई अनावश्यक विवादमा ल्याउने काम भइरहेको उनको जिकिर छ ।

१,भाद्र.२०७८,मंगलवार १५:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: