अफ्रिका कप अफ नेसन्स फुटबलको ड्र सार्वजनिक

काठमाडौं । क्यामरुनमा अर्को वर्ष आयोजना हुने अफ्रिका कप अफ नेसन्स फुटबलको ड्र सार्वजनिक गरिएको छ । ड्र मा सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ ।

अफ्रिकन फुटबल महासंघले सार्वजनिक गरेको ड्र अनुसार साविक विजेता अल्जेरिया समूह ई मा परेको छ । समूह ई मा अल्जेरियासँगै आइभरीकोस्ट, सिएरा लियोन र इक्वेटोरियल गिनी छन् ।

आयोजक क्यामरुन समूह ए मा रहेको छ । यस समूहमा बुर्किना फासो, इथिओपिया र केप भार्डे छन् । यस्तै समूह बी मा सेनेगल, जिम्बावे, गिनी र मालवी तथा समूह सी मा मोरक्को, घाना, कोमोरोस र गाबोन छन् ।

समूह डी मा इजिप्ट, नाइजेरिया, सुडान र गिनी बिसाउ छन् । समूह एफ मा ट्युनिसिया, माली, मौरीटेनिया र गाम्बिया छन् ।

समूह चरणको खेलपछि समूह विजेता, उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट चार टिमले पनि नकआउट चरणमा स्थान बनाउने छन् । प्रतियोगिता ३३औं संस्करण २०२२ को जनवरी ९ देखि फेब्रुअरी ६ सम्म आयोजना हुनेछ ।

२,भाद्र.२०७८,बुधबार १४:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्