नयाँ दल दर्ता गर्नका लागि जसपा नेपालको महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

काठमाडौं । नयाँ दल दर्ता गर्नका लागि जसपा नेपालको महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा पुगेको छ । राष्ट्रपति विद्या देवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा नेपालको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निवदेन दिन निर्वाचन आयोग पुगेको चन्दा चौधरीले जानकारी दिइन् ।

ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ । नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव पछि अघि सारेका छन् । तर जसपा लोकतान्त्रिक पार्टी नै राख्ने निश्चित भएको ती नेताको भनाइ छ ।

ठाकुर पक्षका एक नेताका अनुसार अब नयाँ पार्टीमा एकल अध्यक्षको व्यवस्था गरिएको छ । राजेन्द्र महतो नयाँ पार्टीमा वरिष्ठ नेता बन्ने पक्कापक्की भएको छ ।

​जसपामा नेपालमा हाल रहेका ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेका छन् । नयाँ पार्टीमा २३ सदस्यहरू रहने बताइएको छ । त्यस्तै, पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) हरू मध्ये ठाकुर पक्षमा १४ जना सांसदहरू रहेका छन् । नयाँ अध्यादेशअनुसार यति सङ्ख्या पार्टी विभाजनका लागि पर्याप्त रहेको छ ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

२,भाद्र.२०७८,बुधबार १६:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्