बाग्मतीमा डोरमणिकै समर्थनमा दलको नेता बनिन् अष्टलक्ष्मी

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य बन्ने भएकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएर शाक्यलाई दलको नेतामा प्रस्ताव गरेको सांसद मुनु सिग्देलले बताइन् ।

बागमती प्रदेशमा एमालेको संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् । गृह जिल्ला झापा गएका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं शपथ ग्रहण कार्यक्रमकै लागि बुधबार साँझ प्रदेश राजधानी हेटौंडा आइसकेका छन् ।

मुख्यमन्त्री बन्ने तयारीमा रहेकी शाक्यले आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताएकी छिन् । ‘म कहिल्यै फुटमा लागिनँ । पार्टीको सामूहिक नेतृत्वमा विश्वास गरेँ । त्यसले मात्र पार्टी बलियो बन्छ भन्ने मेरो विश्वास हो । यत्रो राजनीतिक परिवर्तन भएको छ, यो उपलब्धिलाई हामीले जोगाउन सकौँ ।’

यस्तै राजीनामा दिएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको प्रतिक्रिया दिएका छन् ।

‘पार्टी एकताको लागि मैले त्याग गरेको हुँ, पहिला उहाँ (अष्टलक्ष्मी) जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ’, पौडेलले भने, ‘पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं ।’ एमालेबाट बागमती प्रदेश सभामा ५६ जना सांसद छन् ।

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । एमालेका सांसदकै बलमा पौडेललाई बहुमत छ । बागमतीमा ओलीपक्षका ३५ र माधवपक्षका २१ सांसद छन् ।

माधव पक्षको बलियो शक्ति सरकारबाट बाहिरिँदा पौडेलको सत्ता टिक्न सक्ने अवस्था रहँदैन । प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

२,भाद्र.२०७८,बुधबार २०:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्