कास्कीमा निजी तथा सार्वजनिक सवारी साधनमा बिहीबारदेखि पुनः जोरबिजोर प्रणाली

पोखरा । कोरोना संक्रमण बढ्दै गएपछि कास्कीमा निजी तथा सार्वजनिक सवारी साधनमा बिहीबारदेखि पुनः जोरबिजोर प्रणाली लागू गरिएको छ ।
बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १० गतेसम्मका लागि निषेधाज्ञामा कडाइ गर्ने निर्णय गरेको हो ।

यसअघि असार १४ गते सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइएको थियो । जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले होटल तथा रेस्टुरेन्टमा हुने हरेक किसिमका बुकिङ कार्यक्रमलाई पनि रोक लगाइएको जानकारी दिए ।

‘बैंक तथा वित्तीय संघसंस्थालाई समेत सीमित कर्मचारी वा सकेसम्म घरबाटै काम गर्न प्रोत्साहन गर्ने,’ प्रमुख जिल्ला अधिकारी गौतमले जारी गरेको आदेशमा भनिएको छ । परीक्षाको हकमा भने पूर्व निर्धारित विश्वविद्यालय, आयोगका परीक्षाबाहेक अन्य सञ्चालन गर्न पाइने छैन ।

गण्डकीमा बुधबारसम्म ५ हजारभन्दा बढी कोरोना सक्रिय संक्रमित छन् । त्यसमध्ये सबैभन्दा बढी प्रभावित कास्की जिल्ला हुन पुगेको छ । कास्कीमा मात्रै २ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना संक्रमण फैलिएयता कास्कीका ५ सय २० जना संक्रमितको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमण बढेको भन्दै बागलुङ जिल्लाले बैंक तथा वित्तीय संस्थासमेत खुल्न नपाउने गरी भदौ ५ सम्म निषेधाज्ञा लागू गरिएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका र पोखरा ६ वडा कार्यालयले भदौ ४ गतेसम्मका लागि सेवा बन्द गरेका छन् ।

२,भाद्र.२०७८,बुधबार २१:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्