प्रदीप नेपाल भन्छन्– म माधव नेपालको मान्छे हुँ

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप नेपालले आफु माधव नेपालको मान्छे भएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग वैधानिक विद्रोह गरेर माधव नेपालले बुधबार नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा प्रदीपको नाम समेत केन्द्रीय सदस्यमा राखिएको छ । तर, माधवको पार्टीमा प्रदीपको नाम राखेपछि ओली पक्षले प्रदीपले एमाले नछोडेको दावी गर्दै आएको छ ।

पार्टी फुट्दा तानातानमा परेका नेता नेपालले बिहीबार आफ्नो फेसबुक पेजमा आफु माधव नेपालको मान्छे भएको र आफ्नो कुनै कमिटी नभएकाले ६ बर्षदेखि कमिटी विहीन अवस्थामा रहेको प्रस्ट पारेका छन् ।

‘म माधव नेपालको मान्छे हुँ । अहिले मेरो कुनै कमिटी छैन । ६ बर्षदेखि म कमिटी विहीन अवस्थामा छु’ प्रदीपले सामाजिक सञ्जालमा भनेका छन् ।

यता, माधव नेपालको पार्टीमा केन्द्रीय सदस्यका रुपमा रहेका कृष्ण खनाल र भानुभक्त जैसीले भने बुधबार नै आफुहरु ओली पक्षमै रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्ट पारिसकेका छन् ।

३,भाद्र.२०७८,बिहीबार १३:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्