गण्डकीमा ५०४ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप ५०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १८७ जनामा गरिएको नमूना परीक्षणमा ५०४ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २४९ महिला र २५५ जना पुरुष रहेका छन् । प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र कम पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार कास्की २६८ बागलुङ २५, स्याङ्जा ५५, म्याग्दी १९, पर्वत २,गोरखा ३३, लमजुङ ३९ तनहुँमा ३८ र नवलपुरमा २५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७७ हजार ८४७ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१६ का ४५ वर्षीय पुरुष, बागलुङ नगरपालिका –३ का ६५ वर्षीय पुरुष, बागलुङ काठेखोला–७ का ४८ वर्षीय पुरुष, म्याग्दी मंगला–३ का ८४ वर्षीय पुरुष र तनहुँ भिमाद–६ की ४२ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ जना पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ७० हजार ७४३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ५१० पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८८३ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

३,भाद्र.२०७८,बिहीबार १७:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्