यूईएफए पुरस्कारमा प्रिमियर लिगको वर्चस्व, पहिलो पटक सबै मिडफिल्डर

काठमाडौं । यूईएफए वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधिका लागि प्रिमियर लिगका तीनजना खेलाडी अन्तिम सूचीमा पर्न सफल भएका छन् । यस उपाधिका लागि चेल्सीका मिडफिल्डरद्वय जर्गिन्हो र एन्गोलो कान्टे र म्यानचेस्टर सिटीबाट केभिड डि ब्रुयना भिड्ने भएका हुन् ।

अवार्डको ११ वर्षको इतिहासमा पहिलोपटक अन्तिम तीन फाइनलिस्ट मिडफिल्डर भएको यो पहिलो अवसर हो । जोर्गिन्हो र कान्टेले चेल्सीसँग च्याम्पियन्स लिगको उपाधि जितेका छन् भने जोर्गिन्होले यूरो २०२० को उपाधिसमेत हात पारेका छन् । डि ब्रुयनाले सिटीबाट प्रिमियर लिगको उपधि जितेका छन् । गत सिजन यो उपाधि रोबर्ट लेवान्डोस्कीले जितेका थिए ।

उता, वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकमा म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला, चेल्सीका थोमस टुकल र इटालीका रोबर्टो मान्चिनीबीच प्रतिस्पर्धा हुने भएको छ । महिला प्रशिक्षकको अन्तिम सूचीमा चेल्सीकी एमा हेयेस, बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस कोर्टेस र स्वीडेनका पिटर गेरहार्डसन रहेका छन् ।

उत्कृष्ट महिला खेलाडीको उपाधिका लागि बार्सिलोनाका च्याम्पियन्स लिग विजेता जेनी हेरमोसो, लेइकी मार्टेन्स र एलेक्सिया पुटेलासबीच भिडन्त हुने भएको छ ।

यो पुरस्कार आगामी २६ अगस्तका दिन च्याम्पियन्स लिगको समूह चरण घोषणाका बेला प्रदान गरिनेछ ।

४,भाद्र.२०७८,शुक्रबार ०८:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्