सेयरमा लाखौंले लगानी गर्दा सय जनाले मात्रै लाभ लिएका छन् : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा सिमित संख्याका लगानीकर्ताले मात्रै लाभ लिएको बताएका छन् । आज अर्थ समितिमा बोल्दै शर्माले सेयर बजारबाट सय जनाले मात्रै लाभ लिएको बताएका हुन् । उनले सेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान बन्दा लगानीकर्ताको संख्या बढेर ३७ लाख पुगेको बताए । तर, त्यसबाट एक सय जना जतिले मात्रै लाभ लिइरहेको अर्थमन्त्रीले बताएका हुन् ।

सोही कारण सामान्य मानिसको लगानी नडुबोस् भनेर अर्थमन्त्रालयले काम गरिरहेको अर्थमन्त्री शर्माले बताए । हाल सेयर बजारमा बढ्दो चलखेल र अस्वभाविक मूल्यवृद्धिको प्रसंग उठिरहेको र यस विषयमा मन्त्रालयको ध्यान केन्द्रीत भएको शर्माले बताए ।

विद्युत नियमन आयोगले एक सूचना जारी गर्दै सेयर मूल्यमा अस्वभाविक बृद्धि भएको बताएपछि मन्त्रालयले आफ्नो ध्यान त्यतातिर पनि मोडेको शर्माको भनाई छ । त्यसैले आयोगले भनेको जस्तै सत्य/तथ्य बुझेर मात्रै सेयरमा लगानी गर्न मन्त्री शर्माले लगानीकर्ता समक्ष अनुरोध गरे ।

४,भाद्र.२०७८,शुक्रबार १७:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्