सिन्धुपाल्चोक । केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिएका छन् ।
अध्यक्ष थापाको पहल र थुम्पाखर एकता समाजको समन्वयमा बस्नेत परिवारलाई उनले रु एक लाख ५७ हजार नगद पनि सहयोग गरेका छन् । स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत समीक्षालाई वडाध्यक्ष थापाले राजधानीको सान इन्टरनेशनल विद्यालयमा भर्ना गरिदिने बताए ।
साथै, वडासदस्य रुपकाजी लामाले रु १० हजार १०० बालिकालाई सहयोग पुगोस् भनी बस्नेत परिवारलाई वडाध्यक्षमार्फत हस्तान्तरण गरेका छन्। छत्तीस वर्षीय नेत्रबहादुर बस्नेतको एपेन्डिसाइटका कारण निधन भएपछि उनको परिवार पीडामा छ ।
मृतक बस्नेत गाडी चालक थिए । उनले लकडाउनमा पनि गाडी चलाउँदै अहोरात्र खटी लकडाउनमा अलपत्र परेका मानिसको उद्धार गरी सहयोग गरिरहेका थिए । बुबाको मृत्यु भएका कारण समीक्षाको पढाइ रोकिने अवस्थामा पुगेको थियो ।
वडाका नागरिकको पीडामा मल्हम लगाउन उक्त सहयोग गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । थुम्पाखर एकता समाजका सदस्य तीर्थ भण्डारीको पहलमा विदेशमा रहेका रमेश बस्नेतले रु ५० हजार ५०० नगद पनि समीक्षाको परिवारलाई बुझाइएको छ ।
रु एक लाख छ हजार थुम्पाखर एकता समाजका अध्यक्ष रामकाजी भण्डारी, पूर्वअध्यक्ष दिपेश भण्डारी, कोषाध्यक्ष हरि कार्की, श्वेता फाउण्डेशनका सचिव दीपक कार्कीलगायतका एकता समाजका पदाधिकारीले नगद सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्