दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपा असहमत

झापा । झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका हुन् ।

राप्रपा कमल गाउँपालिकाका अध्यक्ष दीपक खरेलले सबै पार्टीको परामर्शबिना समानता र सह अस्तित्वको भावनालाई कुठाराघात गरी नगरपालिकाले एकलौटी र मनोमानी ढङ्गले उपमहानगरपालिका बनाउने एकल निर्णयप्रति असहमति रहेको बताए ।

राप्रपाले आज जारी गरेको विज्ञप्तिमा भनेको छ, “विगतमा कमललाई दमकमा गाभेर दमक नगरपालिकालाई उपमहानगरपालिकामा रुपान्तरण गरी लैजान भन्दा पटकपटक बेवास्तासमेत गरिएको तर अहिले आएर फेरि उपमहानगरपालिका बनाउने प्रस्ताव कसरी आयो ?”

यसैगरी एमालेले पनि कमललाई एकतर्फी रुपमा दमकमा समावेश गरी उपमहानगरपालिका बनाउने प्रस्तावप्रति आपत्ति जनाएको छ । नगरपालिकाले सह अस्तित्वमा रहेको स्थानीय सरकार र पार्टीलाई समेत थाहै नदिइ गरेको निर्णयप्रति दुःख व्यक्त गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका गाउँ कमिटी अध्यक्ष भीमप्रसाद राई र सचिव हरि ढकालले संयुक्त विज्ञप्ति जारी गरी भनिएको छ, “दीर्घकालीन महत्वका विषयमा निर्णय लिन जाँदा समान र सह अस्तित्वको नीति अंगिकार गर्न आग्रह गर्दछौ ।”

नगरपालिकाले गत साउन २८ गते सम्पन्न ९६ औं बैठकबाट उक्त गाउँपालिका र नगरपालिकालाई समावेश गरी उपमहानगरपालिका बनाउने निर्णय गरेको थियो । त्यस निर्णयलाई थप कारवाहीका लागि नगरपालिकाले सङ्घीय मन्त्रालयमा प्रचारसमेत गरिसकेको जनाएको छ ।

६,भाद्र.२०७८,आईतवार १२:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्