हातमा बुद्धचित्तको दाना, गेष्ट हाउस सञ्चालकलाई तर्साउन ‘बम’

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा धार्मिक रुपमा पवित्र भनिएको बुद्धचित्तको दाना लिएर बसेका युवाले नै बम राखेको थाहा भएको छ । शनिवार राति गेष्ट हाउसको कोठा नम्बर–४ मा प्रेसर कुकर बम फेला परेको थियो । नाङ्गो तार जडान गरेर तौलियाले ढाकेको अवस्थामा फेला परेको सो शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निश्कृय बनाएको थियो ।

बम राखेको आरोपमा प्रहरीले काभ्रेको तेमाल गाउँपालिका घर भएका ३२ वर्षीय नविन तामाङलाई पक्राउ गरेको छ । नविन साउन ३२ गतेबाट सोही गेष्ट हाउसको ११० नम्बरको कोठामा बसेका थिए । बुद्धचित्तको माला बेच्न बसेका नवीनले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले बताए ।

होटलमा खाएको बसेको रकम ४० हजार पुगेपछि गेष्ट हाउस सञ्चालक शिवशरण भुजुले पटक–पटक मागेको रिसमा ‘बम’ राखेको तामाङले प्रहरीलाई बताएका छन् । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई बम फेला परेको केही समयपछि नै पक्राउ गरेको हो । नवीनले आफुले घरबाट कुकर ल्याएर राखेको प्रहरीसँग स्वीकार गरेका छन् ।

सेनाको टोलीले निष्क्रिय पार्दा कुकरमा विष्फोटक पदार्थ फेला परेन । नवीनले ‘तर्साउने नियत’ले मात्र कुकरलाई बम जस्तो बनाएर राखेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

६,भाद्र.२०७८,आईतवार १४:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्