एजेन्सी । यो काबुलमा विश्वविद्यालयका विद्यार्थीका लागि नयाँ सत्रका लागि तयार हुने समय हो । तर जबदेखि तालिबानका लडाकू यहाँको सडकमा गस्ती गरिरहेका छन्, थुप्रै विद्यार्थी आफ्नो हालसम्मको जीवनको प्रमाण नष्ट गर्नमा जुटेका छन् ।
यी विद्यार्थी उत्पीडनमा परेका ती हजारा अल्पसंख्यक समुदायका हिस्सा हुन् जसले हालैका वर्षमा तालिबानको हातबाट अपहरण र हत्याको सामना गर्नुपरेको छ । उनले बीबीसीसँग यसबारे कुरा गरेकी छिन् ।
उनले बीबीसीसँगको कुराकानीमा आफूले विभिन्न सपना बुनेको तर ती अहिले डरमा परिवर्तन भएको बताएकी छिन् । केही दिनमा उनको अस्तित्वको भविष्य निश्चित हुनेछ ।
उनको कथा, उनकै शब्दमाः
यो यस्तो कुरा हो जसलाई म शब्दमा बयान गर्न सक्दिनँ । ती सबैकुरा जसबारे मैले सपना देखेकी थिएँ, ती सब जसका लागि मैले कहिले काम गरेकी थिएँ । मेरो गरिमा, मेरो अभिमान, यहाँसम्म कि एक महिलाको रुपमा मेरो अस्तित्व, मेरो जीवन – सबै खतरामा छ ।
कसलाई थाहा छ, उनीहरुलाई घर–घर गएर तलासी लिएर महिलालाई लिएर जान कति समय लाग्ला – सायद उनीहरुमाथि बलात्कार पनि गर्लान् । जब उनीहरु मेरो घरमा आउलान् तब मैले आफैंलाई मानुपर्ने पनि हुनसक्छ । म आफ्ना साथीहरुसँग कुराकानी गरिरहेकी छु । हामी सबै यही गर्ने योजना बनाइरहेका छौं । उनीहरुले उठाएर लिएर जानुभन्दा त मर्नु नै निको ।
हामी सबै असाध्यै डराएका छौं, असाध्यै धेरै ।
‘केही पनि सामान्य रहेन’
दुई महिना अघि मेरो ध्यान आफ्नो डिग्रीमा मात्रै थियो । म फल सेमेस्टरका लागि आफ्नो पढाईको योजना बुनिरहेकी थिएँ । के गर्ने, के नगर्ने भन्ने विषयमा तालिका बनाइरहेकी थिएँ, सबै राम्रो गर्ने कोसिस गरिरहेकी थिएँ । जब तालिबानले देशका थुप्रै प्रान्तमा कब्जा गरिरहेका थिए तब धेरै मानिसहरु डराइरहेका थिए तर मलाई लाग्थ्यो कि उनीहरुले काबुलमाथि कहिल्यै कब्जा गर्न सक्ने छैनन् ।
(काबुलको पश्चिमोत्तरको ठूलो शहर र तालिबान विरोधी गढ) मजार–ए–शरीफमा उनीहरुको कब्जाभन्दा अघिसम्म मेरो जीवन सामान्य चलिरहेको थियो । तर जब उनीहरुले त्यहाँ कब्जा गरे तब मलाई महसुस भयो कि अब हामी समाप्त हुँदैछौं । त्यसपछि उनीहरुले काबुलमाथि कब्जा जमाए । शहरमा केही गोली चले र हामीले सुन्यौं कि तालिबान हरेक गल्ली र चोकमा पुगेका छन् ।
तर केही पनि सामान्य रहेन ।
सोसल मिडिया पोस्टका कारण डरः
मेरो पूरा परिवार घरमा नै बसे । पसल बन्द थिए, मूल्य हरेक घण्टा बढिरहेका थिए र मुद्रा विनिमय दर पनि तीब्र रुपमा फेरिएको थियो ।
मैले विश्वविद्यालयका आफ्ना सबै कागजात र दस्तावेज जलाइदिएँ । सबै उपलब्धि, सबै प्रमाण पत्र जलाइदिएँ । मैले यस्तो मेरो बालकोनीमा गरेँ । मसँग असाध्यै धेरै किताब छन्, प्यारा किताब, जुन म पढिरहेकी थिएँ, मैले ती सबै लुकाएको छु ।’
मैले आफ्नो सोसल मिडिया अकाउन्ट डिएक्टिभेट गरेकी छु । सोसल मिडियामा पोस्ट गर्नु, यहाँसम्म कि उक्त प्लेटफर्ममा रहनु नै अब खतरनाक हुने मलाई बताइयो । तालिबानले सोसल मिडिया चेक गर्छन्, यसमा कुनै शंका छैन र त्यसमा गरिएको पोस्टमार्फत् उनीहरुले हाम्रो खोजी गर्छन् ।
मेरा लागि फेसबुक ठूलो समस्या हो किनभने त्यहाँ म सक्रिय थिएँ । मेरा पुराना पोस्ट छन् जसमा लेखिएको छ कि तालिबानले केही गर्न सक्दैनन् । उक्त पोस्टमा मैले म उनीहरुविरुद्ध डटिरहनेछु र उनीहरुले मेरो शिक्षाको अधिकार खोज्न नसक्ने लेखेकी थिएँ । उनीहरुले मलाई घरमा कैद गर्न नसक्ने पनि बताएको थिएँ । मैले उनीहरुलाई आतंकवादी पनि भनेँ । निश्चित रुपमा ती सबै उनीहरुका लागि आपत्तिजनक पोस्ट थिए ।
उनीहरुले केही दिनभित्रै यस्तो गरिदिनए । म आफूलाई ध्वस्त, भयभीत र उदास पाउँछु ।
तालिबानले घोषणा गरेको छ कि महिलाले हिजाबका साथै रुढिवादी कपडा लगाउनुपर्छ । मानिसहरु डरका कारण बुर्का र हिजाब लगाइरहेका छन् ।
मैले सुनेको छु कि केही विश्वविद्यालयमा कक्षाभित्र महिला र पुरुषबीच पर्दा लगाइएको छ । केही परिवारले आफ्ना छोरीहरुलाई पढ्नका लागि बाहिर जान दिइरहेका छैनन् । किनभने सबैलाई थाहा छ कि तालिबानले आफ्नो वास्तविक अनुहार देखाइरहेका छैनन् तर उनीहरुले यो पक्कै देखाउनेछन् र यो परिवारले ती समस्याबाट बचाउनका लागि यस्तो गरिरहेका छन् ।
मैले तालिबानको पत्रकार सम्मेलन हेरेँ (मंगलबार – जहाँ उनीहरुले महिलालाई अधिकार दिने बचन दिएका थिए) । उनीहरुले झुटो बोलिरहेका छन्, मलाई विश्वास छ उनीहरुले पक्कै झुटो बोलिरहेका छन् ।
‘हामीलाई पक्कै मार्नेछन्, सायद बलात्कार गर्नेछन्’
म मंगलबार आफ्ना पितासँग औषधी लिन बाहिर गएकी थिएँ ।
सबैकुरा बन्द थियो । मैले पूरा हिजाब लगाउनुपर्यो । मानिसहरुले बुर्का पनि लगाएका थिए, यहाँसम्म कि १३–१४ वर्षका किशोरीहरुले पनि । पहिला जस्तो केही रहेन । यो, त्यो शहर नै होइन ।
चारैतिर तालिबान घुमिरहेका थिए । उनीहरुले तपाईंलाई हेर्छन्, तपाईंले पूरा हिजाब लगाउँदा समेत । युसरी कि तपाईं एक सामान्य व्यक्ति नै होइन । जस्तो कि उनीहरुले तपाईंको जीवनको मालिक हुन्, जस्तो कि तपाईं एउटा फोहोर हो जसलाई फ्याँक्नु पर्छ । उनीहरुले तपाईंलाई सडकमा यसरी नै हेर्छन् ।
जब म पढिरहेकी थिएँ तब विभिन्न सपना देख्थेँ, जीवनका योजना र लक्ष्य बनाउने गर्दथेँ ।
मलाई लाग्छ कि मैले देश छोड्नुपर्छ किनभने म हजारा हुँ । उनीहरुले हजारा युवतीमाथि स्कूलमा हमला गरिसकेका छन्, त्यतिबेला सयौं मारिएका थिए ।
उनीहरुले हामीलाई पक्कै मार्नेछन्, सायद बलात्कार गर्लान् । एक महिला भएको नाताले र एक अल्पसंख्यक भएको नाताले मेरा लागि आफ्नो देशमा कुनै ठाउँ छैन ।
मेरो पूरा परिवार भयभीत छ । जबदेखि तालिबानले सत्ता सम्हालेको छ, हामी त्यतिबेला देखि नै यहाँबाट बाहिर निस्कने कोसिस गरिरहेका छौं । चाहे कानूनी रुपमा होस् वा अवैध तरिकाले । विमानस्थलमा असाध्यै भीड छ, बाहिर निस्कनका लागि खाली स्थान नै छैन र थुप्रै देशले हामीलाई अस्वीकार गरिरहेका छन् । सबैले रमिता मात्रै हेरेर बसेका छन् ।
‘मानवता सबैका लागि, अफगान बाहेक’
म विदेशका सबै सरकारसँग यो माग्न चाहन्छु कि उनीहरुले तालिबानलाई अफगानिस्तानमा सरकारको रुपमा मान्यता नदिउन् । किनभने उनीहरुले यस्तो गरे, हामी निश्चत रुपमा मारिनेछौं, सायद मृत्युभन्दा पनि खराब, कसलाई थाहा ।
तर जुन शहरलाई म मनैदेखि प्रेम गर्छु, त्यो कब्जा भएको देख्दा कसको मन नरोला – म भावुक हुन चाहन्नँ तर सबै दुनियाँ चुप बसेको देख्दा मलाई सबैभन्दा बढी दुःख लाग्छ । सबैजना पूर्ण रुपमा चुप छन् ।
तर जसले वास्ता गर्दैनन्, उनीहरुले अफगानी मानिस नै होइनन् भने जसरी व्यवहार गरिरहेका छन् । र यो देखेर मेरो मन कुँडिन्छ ।
भन्न त सबैका लागि मानवता भनिन्छ । तर मलाई लाग्छ कि यसो भन्दा चाहिँ ठिक होला – मानवता सबैका लागि, अफगान बाहेक ।
कहिल्यै सोचेकी थिइनँ कि जीवनमा कुनै बेला यस्तो स्थानमा पनि बस्नुपर्नेछ ।
केही दिन अघि मैले जे जति सपना देखेकी थिएँ, त्यो सबै सिद्धिसकेको छ ।
छात्राको सुरक्षाका लागि उनको नाम बताइएको छैन ।
प्रतिक्रिया दिनुहोस्