विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

काठमाडौं । विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ ।

प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको विद्यालय लागि दुई स्थायी र एक करार शिक्षकको तलब भत्ता लगायतको सुविधको लागि वार्षिक १२ लाख ६५ हजार निकासा गरेको पाइएको जनाएको छ ।

त्यस्तैगरी ङीस्याङ गाउँपालिका अन्तर्गतको ङावल आधारभूत विद्यालयमा एकजना पनि विद्यार्थी नभएको विद्यालयका ८ जना स्थायी शिक्षकको तलब भत्ता लगायतको सुविधाका लागि ३५ लाख ८६ हजार निकासा दिएको छ । एक जना पनि विद्यार्थी नभएको विद्यालयमा समेत करारको शिक्षक नियुक्ति गरेको देखिएको छ ।

यस्तो अवस्थामा विद्यालय गाभ्ने तथा शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गर्न प्रतिवेदनले सुझाव दिएको छ ।

६,भाद्र.२०७८,आईतवार १९:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्