भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख नाघ्यो

भारत । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ । भारतभर विगत २४ घण्टाको समयमा ३० हजार ९४८ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । साथै शनिबार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड–१९ सङ्क्रमित थप ४०३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ३४ हजार ३६७ पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा अघिल्लो दिनभन्दा सात हजार ९४२ कोभिड–१९ सङ्क्रमित थपिएका छन् भने सङ्क्रमित रहेको कूल व्यक्तिको सङ्ख्या अझै तीन ५३ हजार ३९८ छ । भारतमा पछिल्लो १५३ दिनमा सक्रिय सङ्क्रमितको सङ्ख्या सबैभन्दा कम बनेको संघीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।

हालसम्म तीन करोड १६ लाख ३६ हजार व्यक्ति कोभिड सङ्क्रमणपछि निको भएका छन् । विगत २४ घण्टामा निको भई अस्पतालबाट घर फर्किएका विरामीको सङ्ख्या ३८ हजार ४८७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमण निको हुने व्यक्तिको सङ्ख्या दर बढेर ९७.५७ प्रतिशत पुगेको छ र यो दर सन् २०२० मार्चपछि पहिलो पटक सबैभन्दा बढी हो ।

६,भाद्र.२०७८,आईतवार १९:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्