होटेल डेला अन्नपूर्णमा आन्दोलन : दुई धारमा मजदुर

काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएपछि बन्द रहेको दरवारमार्गस्थित होटेल डेला अन्नपूर्णका मजदुरहरुबीच दुई धार देखिएको छ । मजदुर यूनियनका केही पदाधिकारीहरु व्यवस्थापनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । तर, अन्य मजदुर भने आन्दोलन भन्दा होटेल संचालनमा ल्याइ काम गर्ने वातावरण होस भन्ने पक्षमा छन् । मजदुरका नाममा केही पदाधिकारीहरुबाट भइरहेको आन्दोलनले आम मजदुरको हित नगर्ने भन्दै ६५ प्रतिशत हाराहारी मजदुर अहिलेको आन्दोलनको विपक्षमा रहेको सो समुहको नेतृत्व गरिरहेका मजदुरमध्ये एक राजेन्द्र कुमार केसीले बताए ।

मजदुर युनियनले पछिल्लो दुई वर्षयता न्यूनतम पारिश्रमिक नदिएको भन्दै गत भदौ २ मा चर्को नाराबाजी गरेका थिए । तर, युनियनका नाममा व्यवस्थापनविरुद्ध लगाइएको यो आरोप भने झुटो रहेको आन्दोलनको विपक्षमा रहेका मजदुरहरुले बताएका छन् । व्यवस्थापन, होटेल संघ नेपाल (हान) र मजदुर यूनियनबीच आगामी डिसेम्बरसम्म लागु हुने गरि भएको सहमति अनुसार तोकिएको तलव आइरहेको अर्का मजदुर सुरज गौतमले बताए । ‘महामारीको दोस्रो लहर चलिरहेको बेला दुई महिला ढिला आएको थियो’, उनले भने, तर दुई वर्षसम्म न्यूनतम तलव नदिएको भन्नु भ्रम छर्ने काम हो ।’

होटेल अन्नपूर्णले चैत २०७६ यता बन्द छ । होटेल बन्द गरिएसँगै होटेलले स्वच्छिक अवकासको स्कीम ल्याएको थियो । सो स्कीम लिएर करीव ८० जना मजदुर यहाँबाट विदा भएका छन् । करीव २ सय जना मजदुर भने अहिले पनि होटेलसँग आवद्ध छन् । त्यसमध्ये १८० भन्दा बढी मजदुर तहको र अन्य व्यवस्थापन तहको कर्मचारी छन् । होटेल अन्नपूर्ण व्यवस्थापनले भने दीर्घकालिन रुपमा होटेल पुनर्निर्माण गर्ने बताएपनि पाहुना आउन थालेपछि भने संचालन गर्ने योजना बनाएको छ । सोहीकारण मजदुरहरु समेत होटेल संचालनको प्रतिक्षामा छन् ।

तर, पछिल्लो समय यूनियनका नाममा हुने हुलहुज्जतले होटेल संचालनको वातावरण नै नरहने हो की भन्ने चिन्ता भने मजदुरहरुमा बढेको छ । अर्का मजदुर सुरज गौतम भन्छन्, ‘हामीलाई मजदुर आन्दोलनका नाममा होटेल लामो समय बन्द हुने वातावरण बनाइन्छ की भन्ने डर छ ।’ सोहीकारण विभिन्न मजदुर युनियनका केही पदाधिकारीबाहेक अधिकांश मजदुर छिटो होटेल संचालनमा आई सहज वातावरणमा काम गर्ने अवसरको पर्खाइमा रहेको उनले बताए ।

उता, आन्दोलनरत मजदुरहरु भने हानसँग सहमति गरे अनुसारको न्यूनतम तलव नै उपलब्ध नभएपछि आन्दोलनमा उत्रिनु परेको बताउँछन् । २ भदौमा होटेल परिसरमा आयोजित कार्यक्रममा अन्नपूर्णको आधिकारिक ट्रेड यूनियनका अध्यक्ष प्रकाश न्यौपानले न्यूनतम तलव दिन तत्परता नदेखाएको भन्दै आन्दोलन गर्नु परेको बताएका थिए ।

६,भाद्र.२०७८,आईतवार २०:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्