कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद

काठमाडौं । नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यताकै कारण महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएकोमा सोमबार नेताहरुले सहमति जुटाएका हुन् ।

सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । देउवालाई प्रतिवेदन बुझाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उपस्थित थिए । देउवा निवास बुढानीलकण्ठमा प्रतिवेदन बुझ्दै सभापति देउवाले महाधिवेशन निर्धारित मितिमा हुने बताए ।

साउन ३० को केन्द्रीय कार्यसमिति बैठकले भदौ २ सम्म सहमति गरी भदौ ३ मा सभापतिलाई प्रतिवेदन बुझाउन भनेको थियो । तर तीन नेता सम्मिलित कार्यदलले पाँच दिन ढिलो गरी सहमति जुटाएको हो ।

लेखक संयोजक रहेको क्रियाशील सदस्यता छानविन समितिले साउन १२ मा प्रतिवेदन बुझाउँदै बारा, सप्तरीसहित १३ वटा निर्वाचन क्षेत्रको विवाद सुल्झाउन पार्टीलाई सिफारिस गरेको थियो । यी क्षेत्रमा समायोजनसम्बन्धी विवाद बढी थियो । समितिले बारा र सप्तरीको फाइल भने खोलेको थिएन । ‘अब क्रियाशील सदस्यतासम्बन्धी सबै विवाद मिल्यो,’ नेता रमेश लेखकले भने, ‘सहमतिमा हामीले सदस्यता विवाद टुंग्याएका छौं ।’

सदस्यता छानविन समिति सदस्य रहेका नेता प्रदीप पौडेलले समायोजनसम्बन्धी विवाद हल भएको बताए । उनले नयाँ मापदण्ड अनुसार अब सदस्यता विवाद टुंगिएको बताए । ‘सदस्यता विवादकै कारण फेरि अधिवेशन सर्ने हो कि भन्ने आशंका जुन थियो, त्यो अन्त्य भएको छ,’ उनले भने, ‘वडा अधिवेशन तोकिएकै समयमा हुन्छ । यसले महाधिवेशनको सुनिश्चित गरेको छ ।’

कांग्रेसले भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको छ । स्थानीय अधिवेशन सुरु हुन ११ दिन बाँकी रहँदा नेताहरुले क्रियाशील सदस्यता विवाद टुंग्याएका हुन् । कांग्रेसले मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गसिकेको छ । अधिवेशनका लागि निर्वाचन समितिले पनि काम शुरु गरिसकेको छ ।

कांग्रेसले पाँच पटक महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । चार वर्षमा नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ । तर विधानले दिएको थप एक वर्षको सुविधा र संविधानको ६ महिनाको समय पनि गुजार्दै कांग्रेसले मंसिरमा महाधिवेशनको मिति तोकेको हो ।

कांग्रेसको वर्तमान कार्यसमिति चयन भएको भदौ २३ गते साढे पाँच वर्ष पूरा हुँदैछ । कांग्रेसले पार्टीको वैधानिकता जोगाउन भन्दौ भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको हो ।

७,भाद्र.२०७८,सोमबार २१:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्