काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा मात्रै कोरोना संक्रमितको उपचार हुन थालेपछि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु हुने भएको छ ।
कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुन: सुचारु गर्ने निर्णय गरेको कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले बताए ।
उनका अनुसार मिर्गौला प्रत्यारोपण कमिटिको मंगलबार बिहान बसेको बैठकले प्रत्यारोपण सुरु गर्ने निर्णय गरेको हो ।
देशम पहिलो पटक लकडाउन भएपछि २०७६ चैत ११ गतेबाट वीरमा प्रत्यारोपण सेवा रोकिएको थियो । किनकी वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण पछि बिरामीलाई भर्ना गर्ने ट्रान्सप्लान्ट वार्डमा डायलायसिस गर्नुपर्ने कोरोना संक्रमितलाई सेवा दिन थालिएको थियो ।
‘अहिले कोभिडको सबै सेवा सर्जिकल भवनमा सार्यौं। अब अस्पतालको पुरानो भवनमा नन-कोभिड सेवा सुरु गर्न लागेका हौ,’ डा. बस्नेतले भने, ‘नन-कोभिडका बिरामी मारमा नपरुन भनेर यस्तो निर्णय गरिएको हो ।’
मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको बस्नेत बताउँछन् । उनका अनुसार बिरामीको चापको आधारमा सातामा दुईजनासम्म बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी भएको छ । ‘हामीले बिरामी आउनासाथ सेवा सुचारु गर्छौं, मिर्गौला प्रत्यारोपण गर्ने सोचमा रहेका बिरामीलाई सेवा लिन आउन आग्रह गर्छु’ डा. बस्नेतले भने ।
मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा. पारसमणि श्रेष्ठ, डा. अनिल श्रेष्ठ, डा. रविन बस्नेत, डा. पुकार चन्द्र श्रेष्ठ, डा. रजनी हाडा, डा. अनिल बराल लगायतका चिकित्सकहरु छन् ।
प्रतिक्रिया दिनुहोस्