काठमाडौं । तालिबानले मंगलबार आफ्नो अन्तरिम सरकार निर्माणको योजनाअनुरुप केही मन्त्रीहरुको नाम घोषणा गरेको छ । रोचक कुरा, कुनै समय तालिवानका कट्टर विरोधी रहेका गुल आगा शेरजई मन्त्रिमण्डलमा अर्थमन्त्री बन्नेछन् । शेरजईले पहिले कन्दहर र त्यसपछि नंगरहारको गर्भनरको जिम्मेवारी सम्हालेका थिए ।
तालिबानविरुद्धको लडाँइमा उनी सिआईएका प्रमुख सहयोगी थिए । उनलाई तालिवानको ‘कसाई’ समेत भनिन्छ । कन्दहरमा गर्भनर रहेको समय उनले तालिवानको सफायामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले नंगरहारको गर्भनर छँदा सडक निर्माण गरे, त्यहीकारण उनलाई अफगानिस्तानको बुलडोजर पनि भनिन्छ ।
केही दिन पहिलेमात्रै उनले तालिवानप्रति आफ्नो निष्ठाको कसम खाएका थिए । पहिले तालिवानको विरोधी रहेर पनि अहिले तालिवानलाई साथ दिने ठूला नेतामध्ये उनी एक हुन् ।
तालिवानले मुल्ला सखाउल्लाहलाई शिक्षा मन्त्री र अब्दुल बारीलाई उच्च शिक्षा मन्त्री बनाउने भएको छ । सद्र इब्राहिमलाई आन्तरिक गृह मन्त्रीको जिम्मेवारी दिइने पनि घोषणा भएको छ । त्यसैगरी, मुल्ला शिरीनलाई काबुलका गर्भनर र हमदुल्ला नोमानीलाई काबुलको मेयर नियुक्त गर्नेगरी निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्