कर नतिर्नेको घरमा महानगरले बजायो पञ्चेबाजा

काठमाडौं। पटक पटक ताकेता गर्दा समेत कर नतिर्ने अटेरीलाई काठमाडौँ महानगरले घरमै गएर दबाब दिन थालेको छ । यस्ता कर नतिर्ने ठुला करदाताको घरमा बुधवार महानगरको टोली बाजागाजा सहित पुगेको हो।

उनीहरूले घरजग्गा, सम्पत्ति लगायत व्यावसायिक कर नतिर्ने र अटेर गर्ने गर्दै आएका थिए। महानगरपालिका भित्रका यस्ता अटेरी ठुला करदातालाई दबाब दिन महानगर बाजागाजासहित उनीहरूको घर, व्यावसायिक भवन र कार्यालयमा पुगेको हो । महानगरपालिकाका अनुसार त्यस्तो टोली बुधवार पहिलो चरणमा काठमाडौंको न्यूरोड, खुसुबु नयाँ बजार, सोल्टी मोड लगायतका क्षेत्रमा पञ्चेबाजासहित गरेको छ।

यसरी सार्वजनिक रूपमा शालीन ढङ्गले बेइज्जत नै गर्नुपर्ने अवस्थामा पुगेका ठुला करदाताहरूले महानगरलाई विगत २/३ वर्ष देखि २५ वर्ष भन्दा बढी समयसम्मको घर/जग्गाको कर तिरेका छैनन्।

महानगर स्रोतले जनाए अनुसार यसरी महानगरपालिकाले उठाउनुपर्ने कर ७० करोड भन्दा बढी छ। यसरी कर नतिर्ने मध्ये न्युरोडका रञ्जना कम्प्लेक्स, आरबी कम्प्लेक्स र अर्को एक कम्प्लेक्ससहित खुस्बुको ह्वाइट फिल्ड स्कुलमा आज महानगरको टोली पुगेर बाजा बजायो। त्यसै गरी सोल्टी मोडको होटेल प्ल्याटिनियम र राइड सेयरिङ्ग ‘पठाओ’ मा समेत आज महानगरको विशेष टोली बाजागाजासहित गएर कर तिर्न दबाब दिएको छ।

महानगरपालिकाका अनुसार यी करदाताहरूलाई कर तिर्न ३० दिने सूचना जारी गरेर नाम सार्वजनिक गर्दा समेत अटेर गरेपछि महानगरपालिकाले नैतिक दबाब समेत थप्न यस्तो विधि अपनाएको हो। महानगरले गत असार १६ र साउन २४ गते उनीहरूलाई कर दाखिला गर्न आउन ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

९,भाद्र.२०७८,बुधबार १६:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्