धनगढी । अछाममा बालिकालाई बलात्कार र बलात्कार प्रयास गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पञ्चदेवल विनायक नगरपालिकामा छुट्टाछुट्टै दिन दुई बालिकामाथि करणी प्रयास र करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक जनकबहादुर बोहराले बताए ।
बालिकामाथि बलात्कार गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका २४ वर्षीय जनक बटाला र २५ वर्षीय महेन्द्र रावललाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए । बटालाले भदौ ५ गते स्थानीय मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा मोटरसाइकलमा घर पुर्याइदिने भन्दै जंगलमा लगेर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै रावलले पीडितलाई मर्का पर्ने गरी बटालालाई कसूर गर्न दुरुत्साहन गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।
यस्तै भदौ ३ गते पञ्चदेवल विनायक नगरपालिका–३ को गढीकोटमा बाख्रा चराउन गएका बेला बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय गोविन्द शाही पनि पक्राउ परेका छन् । पीडितले दिएको जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।
पक्राउ परेका तीनैजनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्