बाढी र पहिराले अवरुद्ध १२ सडक खुलेनन्

काठमाडौँ । बाढी र पहिराका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालन रहेको छ ।

वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्‍याएको छ । मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ । सो सडक तिमाङ खोला, धारापानी, रामबजार, अर्गले, बगरछापलगायतका स्थानमा अवरुद्ध रहेको छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत रसुवा र नुवाकोट जिल्लामा विभिन्न स्थानमा अवरुद्ध रहेको छ । रसुवा जिल्लामा त्रिशूली खोला, सानो भार्खु खोला गाँजाबारीलगायतका स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छ ।

सोही सडकअन्तर्गत नुवाकोट जिल्लामा मैथली खोलामा एक महिनादेखि पूर्णरूपमा सडक अवरुद्ध छ । जुम्लामा बड्कीमा र त्रिभुवन राजपथ मकवानपुर जिल्लाको नौखन्डेमा पूर्णरूपमा अवरुद्ध छ । कोदारी राजमार्ग सिन्धुपाल्चोकको लिपिङ्ग खोलामा पूर्णरूपमा अवरुद्ध छ ।

सडक विभागअन्तर्गका डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयले आफूसँग भएका उपकरणको प्रयोग गरेर अवरुद्ध सडक खुलाउने गरेका छन् । कतिपय स्थानमा तत्काल दुवैतर्फबाट खुलाउन नसकिने भएमा एकातर्फबाट खुलाएर सवारी साधन चल्न सक्ने बनाएको विभागले जनाएको छ ।

सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, पृथ्वी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, मदन भण्डारी राजमार्गलगायतका राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका थिए । विभागले ती राजमार्गमा एउटा लेनमा खुलाएको भए पनि पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । जेठ र असारदेखि अवरुद्ध कतिपय सडक अझै खुलिसकेका छैनन् ।

९,भाद्र.२०७८,बुधबार १८:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्