प्रत्यक्ष विदेशी लगानी भित्र्याउने न्यूनतम सीमा घटाउन उद्योग विभागको प्रस्ताव

काठमाडौं । उद्योग विभागले प्रत्यक्ष विदेशी लगानी भित्र्याउने न्यूनतम सीमाको थ्रेसहोल्ड घटाउन प्रस्ताव गरेको छ ।

नेपालमा वैदेशिक लगानीको अवस्थाबारे विभागले गरेको एक अध्ययनपछि सेवामुलक सीमित क्षेत्रमा रोजगारी वृद्धिका लागि हाल कायम न्यूनतम लगानीको सीमा घटाउन प्रस्वाव गरिएको विभागले जनाएको छ ।

नेपालमा लगानी भित्र्याउन चाहने विदेशी लगानीकर्ताले अहिले कम्तीमा ५ करोड लगानी ल्याउनै पर्ने सीमालाई घटाउँदा लगानी बढ्ने र रोजगारी वृद्धिमा सहयोग पुग्ने देखिएको विभागका महानिर्देशक जीवलाल भुसालले बताए ।

‘पाँच करोडभन्दा कम लगानीमै गर्न सकिने सूचना प्रविधि, परामर्श सेवा, क्षमता वृद्धि तालिम केन्द्र जस्ता सेवामुलक क्षेत्रमा सो थ्रेसहोल्ड नराख्न प्रस्ताव गरेका छौं,’ महानिर्देशक भुसालले भने । सानो तर रोजगारी र अर्थतन्त्रलाई प्रत्यक्ष लाभदिने विदेशी लगानी भित्र्याउन यस्तो सुझाव दिएको भुसालले बताए ।

विभागको सम्पर्कमा आएका धेरै विदेशी लगानीकर्ताको चासो पनि उत्पादनमुलक ठूला र सानालाई उएटै थ्रेसहोल्डमा राख्नु नहुने रहेको उनले बताए । सिमेन्ट, जलविद्युत जस्ता उद्योग र सेवामुलक सूचना प्रविधिको क्षेत्रमा न्यूनतम सीमा एउटै हुने स्वभाविक देखिएन, यसलाई संसोधन गरौं भन्ने हाम्रो राय हो,’ महानिर्देशक भुसालले भने ।

न्यूनतम लगानी भित्र्याउने सीमा ५ करोडबाट घटाएर कतिमा झार्ने भन्ने चै विभागले यकिन नगरेको उनको भनाइ छ । २०७६ जेठसम्म कम्तीमा ५० लाख रुपैयाँ मात्रै विदेशी लगानी नेपाल भित्र्याउन सकिने व्यवस्था रहेको थियो ।

त्यसलाई संशोधन गरेर सरकारले ५ करोड रुपैयाँ पुर्‍याएको थियो । हाल विभागले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा लगानीको क्षेत्र र उद्योगको प्रकृतिको आधारमा न्यूनतम सीमाबारे निर्णय गर्न सकिने व्यवस्थामा जोड दिइएको छ ।

११,भाद्र.२०७८,शुक्रबार १७:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्