एमाले छाडेका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

काठमाडौं । वागमी प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले १५ दिन नपुग्दै राजीनामा दिएका छन् । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि सोही दिन मन्त्री नियुक्त भएका खनालले नेकपा एमाले छाडेको भोलिपल्ट राजीनामा दिएका हुन् ।

खनालले बुधवारमात्रै प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका थिए । उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ ।

चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत थिए । अब वागमती सरकारमा मुख्यमन्त्री र आन्तरिक मामिलामन्त्री केशव पाण्डे छन् । एमाले विभाजनसँगै सरकार अल्पमतमा परेको छ ।

‘मुख्यमन्त्रीलाई सहज होस् भनेर राजीनामा गरेको हुँ’
नेता खनालले मुख्यमन्त्रीलाई काम गर्न सहज होस् भनेर राजीनामा बुझाएको बताएका छन् । मुख्यमन्त्री र आफ्नो दल फरक परेकाले विहान राजीनामा दिएको बताए । राजीनामापछि नेपाल प्रेससँग कुरा गर्दै खनालले भने, ‘अब हामी फरक पार्टीका भयौं, मुख्यमन्त्रीलाई काम गर्न सजिलो होस् भनेर मैले राजीनामा दिएको हुँ । उहाँलाई मन्त्री बन्दा पनि मैले माधव नेपाल छाड्न सक्दिन भनेको थिएँ ।’

पार्टी फुटको तहसम्म पुग्दा एउटै विचार समूहमा रहेका मुख्यमन्त्री अर्को समूहमा लागेपछि राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘एकीकृत समाजवादी दलले कसरी जाने निर्णय पनि गरेको छैन, उहाँलाई काम गर्न सहज होस् भनेर राजीनामा गरेको हो ।’

दुई फरक दल संयुक्त सरकारमा कसरी जाने भन्नेबारे कुरा नभई मन्त्री पदमा बसिरहन उचित नभएको उनको दाबी छ । खनाल एमाले चितवनको तत्कालीन जिल्ला इञ्चार्जसमेत हुन् ।

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री रहेको बागमती सरकारमा एमालेका ४४ जना, एकिकृत समाजवादीका १२ जना, माओवादीका २३, कांग्रेसका २२ र अन्य दलका ८ जना सांसदहरु छन् । एमाले फुट नभएको भए ५६ जनाको एकल बहुमत पुग्ने थियो । अब साना दलहरुसँग मन्त्री भागबण्डा गरेर पनि सरकार जोगाउन नसकिने अवस्था बनेको छ ।

१६,भाद्र.२०७८,बुधबार १०:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्