धनुषाका स्थानीय तहले कोरोना संक्रमण दर हेरेर विद्यालय खोल्न सक्ने

जनकपुरधाम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयमा भौतिक रुपमै पठनपाठन सन्चालन गर्न दिने/नदिनेबारे संक्रमण दरको अवस्था हेरेर स्थानीय तहले नै निर्णय लिन पाउने भएका छन् ।

सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि २०७८ अनुसार स्थानीय तहले भौतिक रुपमै विद्यालयहरु खोल्न सकिने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । उनले भने, ‘बालबालिका कोरोनाको जोखिममा रहेकाले कक्षा ६ भन्दा माथिका कक्षा मात्र भौतिक रुपमा सञ्चालन गर्न पाउने कार्यविधिमा उल्लेख छ ।’

विद्यालयहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने प्रजिअ बास्तोलाले बताए । उनका अनुसार विद्यालयमा अनिवार्य तापक्रम मापन गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्था र कक्षा कोठामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने हुन्छ ।

प्रदेश–२ को सिरहा र पर्साका केहि विद्यालयहरु सञ्चालन यसअघि नै भइसकेको छ । तर धनुषा, सप्तरी, महोत्तरी लगायतका जिल्लामा शैक्षिक संस्था अझै ठप्प छ । निजी विद्यालयहरु भने गोप्य रुपमा विद्यालय सञ्चालन गरिरहेको छ ।

१६,भाद्र.२०७८,बुधबार ११:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्