काठमाडौँ । सरकारले संघीय संसद्को अधिवेशन बोलाउने तयारी थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाका साथै सत्तारुढ दलका नेताहरूसँग छलफल थालेका हुन् ।
प्रधानमन्त्री देउवाले शनिबार बिहान बालुवाटारमा सभामुख सापकोटा, सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।
छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद अधिवेशन बोलाउनेबारे छलफल भएको बताए ।
‘संसद अधिवेशन बोलाउनुपर्ने अवस्था छ । त्यहीँ विषयमा छलफल भएको हो,’ मन्त्री कार्कीले भने । संसद् अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीसँग सभामुख र सत्तारुढ दलका नेताहरूबीच के कस्तो सहमति भएको भन्नेबारे भने मन्त्री कार्कीले बेही बताएनन् ।
बैठकमा सत्तारुढ गठबन्धनको एकता, सरकारका कामकारबाहीमा प्रभावकारिता र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय पनि उठेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्र संसद्बाट अमेरिकासँग गरिएको एमसीसी सम्झौता पास गराउने विषयलाई छलफलको विषय बनाएका छन् । एमसीसी पास गर्नकै लागि संसद् अधिवेशन बोलाउनुपर्ने प्रधानमन्त्री देउवाको जोड छ ।
प्रतिक्रिया दिनुहोस्