विवेकशील साझामा केशव दाहालको प्रस्ताव : महाधिवेशनसम्म नेतृत्वले पद छाडौं

काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय सदस्य केशव दाहालले पार्टीको नेतृत्वले पार्टी अनुशासन उल्लंघन गरी पार्टीलाई ध्रुवीकरणमा लगेको भन्दै पद छोड्ने प्रस्ताव अघि सारेका छन् ।

पार्टीमा देखिएको विवाद समाधानका लागि उनले अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले आउँदो महाधिवेशनसम्म पद छोड्ने प्रस्ताव गरेका हुन् । मिश्रले संघीयता र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेका थिए भने मिलन पाण्डेसहितका नेताहरुले त्यसको जवाफमा अर्को प्रस्ताव सार्वजनिक गरेका थिए ।

सोही प्रस्तावका कारण विवाद पार्टीभित्र विवाद बढ्दै गएका बेला दाहालले विवाद समाधानका लागि प्रस्ताव सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तेस्रो प्रस्तावमा भनिएको छ, ‘अहिलेको नेतृत्वले पार्टी अनुशासन उलंघन गरेको र अस्वाभाविक ध्रुवीकरणमा पार्टीलाई लगेको कारण यो नेतृत्वले महाधिवेशनसम्म पद छाडौं ।’ दाहालले पार्टीका महिला, युवा वा अरुनै कोही ब्यक्तिको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने र सबै काम त्यही समितिले गर्ने प्रस्ताव गरेका छन् ।

दाहालले पार्टी अध्यक्ष मिश्रको दस्तावेज र संयोजक पाण्डेसहितका नेताहरुको दस्तावेज दुबैलाई अहिले छलफल नगर्ने प्रस्ताव पनि राखेका छन् । ‘यसलाई अझै केही समय अनौपचारिक छलफलमा राखौं । तर हिजो हामीले जुन जमिनमा उभिएर पार्टी निर्माण गर्‍यौं, त्यसलाई अझ सुदृढ गर्दै महाधिवेशन गरौं’ उनले आफ्नो पहिलो प्रस्तावबारे भनेका छन् ।

त्यस्तै दोस्रो प्रस्तावमा उनले रवीन्द्र मिश्र र पाण्डेसहितका नेताहरुको दुबै प्रस्तावलाई एउटै दस्तावेज बनाउने प्रस्ताव गरेका छन् । ‘यसो गर्दा दुबै दस्तावेजका विवादास्पद बिषयलाई अहिले छलफलमा नल्याऔं । यसका लागि दुबै पक्षले बिश्वास गरेका साथीहरुको कार्यदल बनाऔं’ उनले भनेका छन् ।

२०,भाद्र.२०७८,आईतवार १४:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्