एक दशकको पर्खाइपछि पूरा भयो गोलकिपर विशालको सपना

काठमाडौ । धैर्य गर, पक्कै त्यसको फल पाउनेछौँ । धेर्यको फलको कस्तो हुन्छ त्यो फुटबल विशाल श्रेष्ठले राम्रोसँग अनुभव गर्न पाए ।

गोलकिपर विशालले राष्ट्रिय टिमबाट खेल्नका लागि एक दशक प्रतीक्षा गरे । आइतबार घरेलु मैदान दशरथ रंगशालमा घरेलु समर्थककमा माझ विशालले राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरे । र नेपालको सिनियर टिमको लागि खेल्ने सपना पूरा गरे ।

बारम्बार घरेलु फुटबलको शीर्ष लिग जितिसकेका अनि लिगको उत्कृष्ट गोलकिपर पनि बनिसकेका विशाल श्रेष्ठ नियमित जसो राष्ट्रिय टिममा परे पनि खेल्न पाएका थिएनन् । त्यो पनि एक दुई खेल होइन, एक दशकदेखि उनी राष्ट्रिय टिममा छन् तर खेल्न पाएका थिएनन् ।

तर आइतबारको दिन भने विशालकै लागि जस्तो भयो । हुनत नेपालका कप्तान तथा नम्बर वान गोलकिपर किरण चेम्जोङले आइतबार भारतविरुद्ध खेलेपछि नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाए । उनले ७४ क्याप जिते । किरणले पूर्वकप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमान तोडे ।

उनै कीर्तिमानी खेलाडी किरणलाई रिप्लेस गर्दै विशालले घरेलु मैदानमा डेब्यु गरे । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ८६ औं मिनेटमा विशालाई किरणको स्थानमा मैदान पठाए । डेब्यु गरेपछि विशालले अभिव्यक्त गर्ने शब्द नै नभएको बताए । ‘मसँग कुनै शब्द नै छैन । यसैका लागि प्रतीक्षा गरिरहेको थिएँ । सानैदेखिको सपना थियो । त्यो सपना पूरा भएको छ,’ विशालले भने ।

आइतबारै बेलुका नै नेपाली टिमलाई प्रशिक्षकले छुट्टी दिएपछि विशाललगायत खेलाडी घर पुगिसकेका छन् । विशालले घरमा पुगेर परिवारसँग पनि खुशी मनाउन भ्याइसके ।

भारतविरुद्धको खेल अनि घरेलु मैदानमा डेब्यु । धेरै समयसम्म यो सम्झना भइरहन्छन् । ‘अझ खेल जित्न पाएको भए झन् मज्जा हुने थियो । भारतसँग पराजित भयौँ । तै पनि डेब्यु गर्न पाउँदा खुशी छु ।’

विशाल सन् २०११ मा पहिलो पटक राष्ट्रिय टिममा परेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोटअन्तर्गत नेपालले २०११ जुन-जुलाईमा घरेलु मैदानमा टिमोर लेस्टेसँग खेलेको थियो । त्यही खेलमा उनी टिममा पहिलो पटक परे । तर खेल्ने अवसर पाएनन् ।

किरण चेम्जोङ नेपालको पहिलो रोजाइको गोलकिपर रहँदा विकेश कुथु र विशाल श्रेष्ठ बाँकी दुई गोलकिपरको रुपमा टिममा रहन्थे । यस्तै किरण चोटका कारण वा विदेशी क्लबमा खेल्न जाँदा विकेश कुथु नेपालको पहिलो रोजाइको गोलकिपरका रुपमा खेल्थे । त्यो बेला पनि विशालले पनि अवसर पाएनन् ।

विशाल पनि चोटका कारण र फर्ममा नहुँदा कुनै बेला राष्ट्रिय टिममा पर्थेनन् । नेपालले गत जुनमा कुवेतमा विश्वकप छनोट खेल्दा पनि विशाल थिएनन् । त्यसअघि घरेलु मैदानमा नेपालले थ्री नेशन्स कपको उपाधि जित्दा पनि उनी टिममा थिएनन् । तर उनले निर्नतर मिहिनेत गरे । धैर्य राखे । हिम्मत हारेनन् । अन्तत: राष्ट्रिय टिको जर्सी लागएरै छाडे । क्लब फुटबलमा जस्तै उनी राष्ट्रिय टिममा पनि २० नम्बरकै जर्सी लगाएर खेले ।

पछिल्लो पटक २०७६ सालमा भएको ए डिभिजन लिगमा विशालले मछिन्द्र क्लबबाट लिग जितेका थिए ।

त्यसअघि उनले मनाङ मर्स्याङ्दी क्लबबाट पनि लिग जितेका थिए । ए डिभिजन लिगमा उनी विशालसँगै आइतबार डिफेण्डर राजन गुरुङले पनि राष्ट्रिय टिममा डेब्यु गरे । राजन मनिष डाँगीको स्थानमा विशालसँगै ८६औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

दुई खेलाडी मैदान प्रवेश गर्दा नेपाल २-० ले पछि थियो । ८६औं मिनेटमै नेपालले गोल फर्कायो । गोल गर्ने खेलाडी थिए तेज गुरुङले । उनले पेनाल्टी एरियाभन्दा बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए ।

तेजको राष्ट्रिय टिममा यो पहिलो गोल हो । विशाल र राजनले राष्ट्रिय टिममा डेब्यु गर्दा तेजले डेब्यु गोल गरे । यो सबै ८६औं मिनेटमै जुरेको थियो ।

खेलपछि नेपालका प्रशिक्षक अलमुताइरीले पनि सबै खेलाडीको प्रशंसा गरे । उनले दुई खेलाडीको डेब्युसँगै तेजको शानदार गोलको पनि प्रशंसा गरे ।

२१,भाद्र.२०७८,सोमबार ११:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्