संखुवासभा हत्या प्रकरण : राति पानी पर्‍यो, बिहानदेखि अनुसन्धान सुरु

विराटनगर । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि पुगेको टोलीले अनुसन्धान सुरु गरेको छ ।

सखुंवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनास्थल पुगेको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो ।

संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमबार राति घटनास्थल पुगेको थियो । मंगलबार बिहानबाट घटनास्थलको अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक दाहालले बताए ।

अनुसन्धान टोलीमा ट्रयाकर डग पिकु र लैलालाई घटनास्थल लगिएको छ । सोमबार रातभर पानी परेका कारण मंगलबार बिहानमात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी दाहालले बताए ।

सोमबार बिहान शव भेटिएपछि प्रहरीले घटनास्थल सिल गरेको थियो । कुकुरको प्रयोगका लागि रातभर घटनास्थलमा नै शव छाडिएको थियो । तर पानी परेका कारण कुकुर प्रयोगको प्रभावकारिता कम देखिने प्रहरी स्रोत बताउँछ । कुकुरले सुगेर सम्भावित आरोपीसम्म पुर्‍याउने काम गर्छ ।

पानी परे पनि कुकुरको प्रयोग गर्ने दाहालले बताए । ‘पानी पर्दा ट्रयाकर डगको प्रभावकारिता कम हुनसक्छ,’ दाहालले भने, ‘हामी सकेसम्म कोसिस गर्छाैं ।’

सोमबार बिहान मादी नगरपालिका-१ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । आँखा कम देख्ने र काम कम सुन्ने ९३ वर्षीय बौद्धमान सकुशल छन् ।

उनकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्की हत्या भएको हो ।

प्रहरीका अनुसार पार्वतीको शव घरभित्र ओछ्यानमा सुतेकै अवस्थामा छ । तेजबहादुरको शव घरदेखि बाहिर सडकमा घोप्टो परेको अवस्थामा छ । ज्याकेट र गम्बुट लगाएका उनको भाग्दा भाग्दै हत्या गरेको जस्तो देखिन्छ ।

रञ्जना र कमलाको शव घर नजिकैको खोल्सामा छ । दिपेन र गोमाको शव घरदेखि खरबारीमा छ । घोप्टो अवस्थामा रहेका उनीहरुको शव करिब पाँच मिटरको दूरीमा छ ।
पाँच जनाको भाग्दा भाग्दै र एक जना वृद्ध महिलाको सुतेकै अवस्थामा हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

२२,भाद्र.२०७८,मंगलवार १०:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्