स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन मुख्यमन्त्री शाक्यको आग्रह

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कोरोना संक्रमण निमन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीज मनाउन आग्रह गरेकी छिन् ।

उनले बिहीबार एक शुभकामना सन्देश जारी गर्दै विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्य सम्वन्धी सुरक्षाका मापदण्ड अपनाएर तीज तथा अन्य चाडपर्व मनाउन आम नागरिकहरुलाई आग्रह गरेकी हुन् ।

उनले चाडपर्व मनाउने शैली समय अनुसार परिवर्तन हुँदै गएकाले आफ्नो मौलिक संस्कृति तथा परम्पराहरूलाई संरक्षण र प्रवर्द्धन गर्ने गरी चाडपर्व मनाउन अनुरोधसमेत गरेकी छिन् ।

उनले शुभकामना सन्देश मार्फत् तीजले नेपाली महिलाहरुलाई समाजमा विद्यमान लैंगिक विभेद, जातीय विभेद लगायत सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरिन् ।

नेपालीहरुले मनाउँदै आएको विभिन्न चाडपर्व तथा सास्कृतिक पर्वहरूले आम नेपालीहरुमा विविधतामा एकता, धार्मिक, सहिष्णुता, पारिवारिक मिलन तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेको विश्वास व्यक्त गरिन् ।

तीजको मौलिकतालाई कायम राख्दै यसको सास्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

तीज पर्वले पारिवारिक सुख, सामाजिक तथा पारिवारिक एकता, समाजिक समानता प्राप्ति गर्ने पथमा सफलताको कामनासमेत उनले गरिन् ।

२४,भाद्र.२०७८,बिहीबार ११:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्