काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसका संस्थापक तथा जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर शर्माले बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजलमा पुगेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

सो क्रममा शर्माले १५ वर्ष लगातार काँग्रेसलाई सरकार सञ्चालनको परिकल्पनाका साथ आफूले महामन्त्रीमा उम्मेदवारी दिन लागेको जानकारी दिए । बीपीले काँग्रेसले लगातार १५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशको आर्थिक समृद्धि हुन सक्ने र जनताको जीवनस्तर पनि माथि उठ्न सक्ने धारणा राख्ने गरेको थिए । सोही मन्त्रलाई आत्मसाथ गर्दै प्रवक्ता शर्माले आफ्नो उम्मेदवारी बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न पनि भएको बताए ।

‘महामन्त्रीमा मेरो उम्मेदवारी काँग्रेसलाई लगातार १५ वर्षसम्म सरकारको नेतृत्व गराएर बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न हा । म महामन्त्री भएर त्यसको लागि लागिपर्नेछु ।’, शर्माले भने ।

काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । महामन्त्रीमा मात्रै एक दर्जनको हाराहारीमा आकांक्षी छन् भने त्यसमध्ये केहीले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि नै गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् भने अर्का नेता प्रदीप पौडेलले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।

काँग्रेस महामन्त्रीको अरु आकांक्षीमा नेताहरु बालकृष्ण खाँण, एनपी साउद, प्रकाशशरण महत, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, मिनेन्द्र रिजाल, धनराज गुरुङ, गुरुराज घिमिरेलगायत रहेका छन् ।

२४,भाद्र.२०७८,बिहीबार १३:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्