तालिबानको कब्जा पछि अफगानीहरू जागिर र पैसाको भयमा

अफगानिस्तान । काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतीफा अलिजादा उनको पाँच सदस्यीय परिवारमा एकमात्र रोजगार व्यक्ति हुन् । उनले घर खर्चका अतिरिक्त तीन छोरा र बेरोजगार पति समेतको हेरचाह गर्नुपर्ने दायित्व छ।

जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए त्यसपछि उनी बेरोजगार भइन र हाल भविष्यको चिन्तामा परेकी छिन् । जब कट्टर इस्लामी समूहले तलब नदिने, अनुहार छोप्ने गरी घुम्टो लगाउनुपर्ने र कामका सिलसिलामा पुरुष सहकर्मीहरू बाट समेत अलग हुनुपर्ने नियमहरू थोपर्न थाले ती २७ वर्षीया युवती जागिर छोड्न बाध्य भइन् ।

आफ्ना कलिला दुई बच्चाको हात समातेर दर्दनाक अवस्थामा उनले भनिन्, ‘मैले तलब नपाएको हुनाले जागिर छोडेकी छु।’ काबुल को एक सडक बजारमा एएफपीसँग कुरा गर्दै उनले भनिन् “मलाई लगाइरहेको पोशाक नलगाउन, पुरुषहरूसँग काम नगर्न र महिलाहरूसँग मात्र काम गर्न आदेश दिन थालियो जुन चिकित्सा पेशामा सम्भव छैन त्यसपछि म जागिर छाड्न बाध्य भएँ।’

अलिजादा जस्तै अफगानिस्तानका अन्य महिलाहरू अब तालिबानको अधीनमा चल्ने शासनमा के हुन्छ भनेर चिन्तित छन् । अचेल अफगानिस्तानको बजारमा खाद्यान्नको मूल्य बढेको छ, इन्धनको लागत बढेको छ र रोजगारीका अवसर समेत साँघुरिदै गएका छन् । जटिलता थपिँदै गएका छन्। यस विषयमा संयुक्त राष्ट्रसंघले समेत चासो व्यक्त गर्दै भनेको छ, खाद्यान्न अभाव, उच्च मुद्रास्फीति र मुद्रामा गिरावटको डरले मानवीय आपतकालीन अवस्थातिर मुलुक अगाडि बढेको छ।

परिवर्तित राजनीतिक अवस्थाले गर्दा अब त्यहाँ धेरै सरकारी सेवाहरू बन्द हुने अवस्थामा छन्। अन्तर्राष्ट्रिय सहायता कटौती हुँदैछ र बाह्य सहायतामा निर्भर गतिविधिहरू बन्द हुँदैछन् र महिलाहरू थप प्रताडित हुने अवस्थाको सृजना हुनसक्ने देखिन्छ।

२४,भाद्र.२०७८,बिहीबार १६:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्