नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्मशमशेर राणाको निधन

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्मशमशेर राणाको निधन भएको छ । उनले शुक्रबार राति ९ः ४५ बजे निधन भएको हो । व्यवसायी तथा भारतका लागि नेपालका राजदूत समेत रहेका रुक्मशमशेर राणाले नेपालमा बहुराष्ट्रिय कम्पनी डाबर भित्र्याएका थिए । उनले नेपालमा सन् १९९० मा बहुराष्ट्रिय कम्पनी डाबर स्थापना गरेका थिए । यो कम्पनीले नेपालमा १९९२ देखि उत्पादन थालेको थियो ।

‘डाबर नेपाल’ स्थापना भएपछि राणा कम्पनीको नेपालको प्रबन्ध निर्देशक समेत भएका थिए । ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका राणा नेपाल भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत हुन् । हाल डाबर नेपालका उत्पादनहरु नेपालसहित भारतमा समेत कारोबार हुँदै आएको छ । स्थापनाको सुरुवाती वर्षमा कम्पनीले वार्षिक ५३ लाखको कारोबार गरेको थियो । हाल डाबर नेपालले वार्षिक १० अर्बभन्दा बढीको व्यापार गर्दै आएको छ ।

राणा नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरका छोरा हुन् । सुवर्ण शम्शेर निर्वासनमा रहेका बेला सन् १९३६ मा कोलकातामा राणाको जन्म भएकी थियो । राणाले कोलकाताबाट इतिहासबारे स्नातकोत्तर गरेका थिए । उनले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी निभाइसकेका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।

२६,भाद्र.२०७८,शनिबार १२:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्