काठमाडौं । प्रधासेनापति प्रभुराम शर्माले सैनिक अनुशासन, पदीय मर्यादा र आचरण विपरीतका गतिविधि क्षम्य नहुने बताएका छन् ।
सैनिक नेतृत्व सम्हालेपछि पहिलो पटक सम्बोधन गर्दै शर्माले आफ्नो कार्यकालभरि सामूहिक नेतृत्वको भावना अनुसार अघि बढ्ने उद्घोष गरे । तर सैनिक आचरण विपरीतका गतिविधिविरुद्ध खरो उत्रिने बताए ।
उनले भनेका छन्, ‘नेपाली सेना ऐतिहासिक कालखण्डदेखि नै पद्दति र प्रणालीमा आधारिक संगठन थियो । आज पनि छ र भोलि पति रहनेछ । यस संगठनलाई सुदृढ र सशक्त बनाउन सामूहिक भावना अनुरुप कार्य गर्नै पर्छ ।’
उनले अगाडि भनेका छन्, ‘तर नेपाली सेनाको तेजोबध हुने गरी संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवाञ्छित गतिविधि क्षम्य हुनेछैन ।’
शर्माले सैनिक नेतृत्व सम्हाल्दै गर्दा आफूलाई गहन जिम्मेवारी बोध भएको बताएका छन् । उनले अन्तर्रार्ष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाको वातावरण अनिश्चित, अस्थिर तरल तथा जटिल रहेको बताउँदै नेपाली सेनासामूह थप चुनौतिहरु रहेको बताएका छन् ।
‘यस्तो जटिल परिस्थितिमा समेत संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्र हित र स्वार्थको संरक्षण र प्रबर्द्धन गर्न सदवै रहनु सेनाको प्रमुख कर्तव्य हो’ शर्माले भने । उनले आफ्नो तीन वर्षे कार्यकालमा ‘३ जोड एक’ कमाण्डलाई सफल कार्यान्वयनमा लैजाने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्