भोजपुरका किसानलाई उत्पादित दूध बजारसम्म लैजान समस्या

भोजपुर । भोजपुर पशुपालनका लागि उपयुक्त जिल्ला मानिन्छ । वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएको कारण पनि यो जिल्ला पशुपालनका लागि राम्रो रहेको पशुविज्ञको भनाइ छ । भोजपुरमा दूध तथा दुग्धजन्य वस्तुको भने अभाव नै रहन्छ । कारण हो, बजारीकरण, प्रोत्साहन तथा व्यावसायिक धारणाको अभाव ।

व्यावसायिक रुपमा केही किसानले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् तर ती कृषक पनि लगानी तथा मिहिनेतअनुसारको आम्दानी लिन नसकेको गुसानो गर्छन् । उनीहरुलाई उत्पादित दूध सहज रुपमा बजारसम्म लैजाने वातावरण छैन । सदरमुकाम आसपासमा पर्ने बोखिम, दावा, पोखरे, खुरिला, ढुङ्गेलगायत ठाउँका मानिस पराम्परागत रुपमा भए पनि पशुपालन व्यवसाय गरिरहेका छन् तर उनीहरुमध्ये बजारमा ल्याएर दूध बिक्री गर्न कमै मात्र उत्सुक देखिन्छन् ।

ग्रामीण भेगमा प्रशस्त मात्रामा दूधको उत्पादन भए पनि सडक तथा अन्य विविध कारणले किसानले बिक्री गर्न असम्भव छ । बजारमा लैजान समस्या हुने भएपछि ती भेगका मानिस खास व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छैनन् । स्थानीय सरकारले उपयुक्त वातावरण मिलाइदिए व्यावसायिक रुपमा लाग्ने किसान बताउँछन् ।

बजारसम्म दूध ल्याएर बेच्न किसानलाई सडकको समस्या छ । केही समय बजारमा ल्याएर दूध बेच्न थालेका किसान पछिल्लो समयमा आएर बेच्न छाडेको अनुभव सुनाउँछन् । एकदेखि डेढ घण्टा लगाएर बिक्री गरेको दूधको खास आम्दानी नहुने भोजपुर नगरपालिका–५ बोखिमका भैँसीपालक कृषक रुपनारायण फुयाँलले बताए । उनले भने, “मैले केही समय बजारमा लगेर दूध बेचँे । आउँदा र जाँदा एक जनाको बिहान बित्छ । बजारका होटलमा लग्यो नियमित रुपमा लिँदैनन् । डेरीहरुले पनि असार पन्ध्र, तीज लगायतका समयमा भने जति पनि लिन्छन् अरू बेला यो वा त्यो बहाना बनाएर किसानलाई दुःख मात्र दिएको देख्छु । त्यही भएर पनि मैले दूध बिक्री गर्न छाडे । हाम्रो टोलमा व्यावसायिक नभए पनि एक घरमा आठ÷दस लिटर दूध उत्पादन हुन्छ ।”

व्यावसायिक रुपमा दुग्ध व्यवसाय सञ्चालन गरेकाहरुले दही, घ्यू, पनिर, छुर्पी लगायतको मूल्य बर्सेनि बढाए पनि दूधको मूल्य बढाएर दिन नमान्ने समस्याले पनि दूध बिक्री गर्न छाडेको अर्का स्थानीय कृषक हर्कलाल लुइँटेलको भनाइ छ । उनको प्रश्न थियो, “हामी कृषकले उद्योगमा लगेर बिक्री गर्दा रु ४५ देखि ५५ पाउँछौँ । मैले बिक्री गर्न थाल्दा यही मूल्य थियो । उद्योगले प्रतिकेजी आठ सयमा बिक्री हुँदै आएको घ्यूको मूल्य रु एक हजार दुई सय, पनिर आठ सय र रु ८० मा बेच्दै आएको दही रु ९० पुगेको छ । तर दूधको मूल्य बढाउन व्यवसायी मान्दैनन् । हामी किसान मारमा छौँ । यो कसले सुनिदिने ?”

दूधको बजारको व्यवस्थापन गर्न विभिन्न ठाउँमा कलेक्सन केन्द्र स्थापना गर्ने भन्दै चिलिङ भ्याट राखिएका छन् ती लाखौँका सामग्री प्रयोगविहीन भएका छन् भने उत्पादन भएको दूध खेर गइरहेको किसान बताउँछन् । दुग्ध उद्योग क्षेत्रकोे विकासका लागि प्रदेश सरकार तथा पशु र कृषि कार्यालयले प्रोत्साहन गर्दै आएका छन् । तर अनुदान लिएका उद्योगी तथा व्यवसायीले यस क्षेत्रको विकास र विस्तारमा लगानी गर्न नसकेको स्थानीयवासीको भनाइ छ ।

सरकारले अनुदानको कार्यक्रम सञ्चालन गर्दा अनुगमन तथा प्राथमिकतालाई कडाइका साथ पालन गराउनु पर्ने आवश्यक रहेको उनीहरुको ठहर छ । उद्योगको विकास विस्तार गर्नुको सट्टामा व्यवसायी अनुदानमुखी बन्दा उद्योगको विकासभन्दा पनि व्यक्तिलाई मात्र लाभ पुगेको सरोकारवाला पक्षले बताउने गरेका छन् । समय/समयमा यहाँका दुग्ध उद्योग तथा व्यवसायीहरुले विभिन्न ठाउँबाट अनुदान सहयोग पाएका छन् तर ती उद्योगहरुले खास उपयुक्त ढङ्गले यस क्षेत्रको विकासमा लगानी नगरेको स्थानीयवासीको भनाइ छ ।

बजारमा विभिन्न समयमा दूधको अभाव हुनुमा व्यवस्थापन राम्रो नभएको कृषकको भनाइ छ । यहाँ उत्पादन भएको दूधलाई बजारीकरणका लागि सहजता प्रदान गर्न सके बजार धान्न समस्या नहुने किसान रामबहादुर कार्कीले बताए ।

करिब १० वर्षअघिबाट भोजपुर बजारमा गणेशथान दुग्ध उद्योग सञ्चालन गर्दै आभएका ज्ञानबहादुर कार्कीले बजारमा माग धान्न नसकेको बताए । किसानमा दूध बिक्री गर्ने धारणा अझै विकास हुन नसकेको उनको भनाइ छ । किसानले बजारसम्म दूधलाई ल्याउन नमानेपछि आफैँले मोटरसाइकलबाट ६ किलोमिटर टाढाबाट दूध ल्याउने गरेको कार्कीले बताए ।

२६,भाद्र.२०७८,शनिबार १६:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्