एफबीआईले खुलासा गर्‍यो सेप्टेम्बर ११ सँग जोडिएको नयाँ तथ्य, साउदीको संलग्नता प्रमाणित भएन

काठमाडौं । अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको हवाई हमलाबारे एफबीआई नयाँ सूचना बाहिर ल्याएको छ । एफबीआईले १६ पृष्ठ लामो दस्तावेज सार्वजनिक गरेको हो ।

यस दस्तावेजमा दुईजना साउदी अपहरणकारीलाई लजिस्टिक सहयोग प्राप्त भएको विषय पनि समावेश छ । अमेरिकामा रहेका आफ्नो साउदी सहयोगीहरुसँग अपहरणकारीहरुको सम्पर्क रहेको यस दस्तावेजले देखाउँछ । तर, साउदी सरकार यस घटनामा समावेश रहेको पुष्टि भने यी दस्तावेजहरुले गर्न सक्दैनन् ।

जो बाइडेनले यसअघि नै सेप्टेम्बर ११ बारेका दस्तावेज र सामाग्रीहरु सार्वजनिक गर्न निर्देशन दिएका थिए, त्यसयता सार्वजनिक भएको यो पहिलो अनुसन्धानात्मक रिपोर्ट हो ।

यसअघि सेप्टेम्बर ११ मा मारिएका अमेरिकीका परिवारले यस्ता दस्तावेजहरु सार्वजनिक हुनुपर्ने दबाब सरकारलाई दिएका थिए । उनीहरुले शीर्ष साउदी अधिकारीहरु पनि आक्रमणमा संलग्न रहेको आरोप लगाउँदै साउदी अरेबियासँग खर्बौं डलर क्षतिपुर्ति माग गरेका थिए । गोप्य रहेका सुचनाहरु सार्वजनिक नभएसम्म सेप्टेम्बर ११ हमलाको स्मृति दिवसमा भाग नलिन पनि उनीहरुले राष्ट्रपति जो बाइडेनलाई चेतावनी दिएका थिए ।

१५ आक्रमणकारी साउदीका नागरिक आक्रमण लगत्तै साउदीको संलग्नताका विषयमा आंशका सुरु भएको थियो । किनकी, १९ जना आक्रमणकारीहरुमध्ये १५ जना साउदी अरेबियाका नागरिक थिए । अल कायदाका नेता ओशामा बिन लादेन आफैं साउदीको प्रभावशाली परिवारका सदस्य थिए ।

यद्यपी साउदी सरकारले लामो समयदेखि आफ्नो संलग्नता अस्विकार गर्दै आएको छ । बुधबार वासिङटनस्थित साउदी दूतावासले सबै रेकर्डहरु सार्वजनिक गर्ने विषयमा आफ्नो समर्थन रहेको बताएको थियो ।

उसले साउदी अरेबियामाथि लागेका आधारहीन आरोपहरु अन्त्य गर्न यी दस्तावेज महत्वूर्ण साबित हुने पनि जनाएको थियो । दूतावासले साउदीको संलग्नताका विषयमा लगाइएका सबै आरोपहरु झुठा रहेको जनाएको छ ।

२७,भाद्र.२०७८,आईतवार १५:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्