बागमतीको स्वास्थ्य मन्त्रालयमा प्रशासनको सचिव राखेकोमा विरोध

काठमाडौं । बागमती प्रदेशमा नवगठित स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फकै सचिव रहने व्यवस्थासहितको सांगठनिक संरचना तयार पारेपछि सरकारी चिकित्सक संघ (गोदान) र नेपाल चिकित्सक संघले आपत्ति जनाएका छन् ।

यसअघि गण्डकी र लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिएको भन्दै बागमतीमा पनि सोहीअनुसार दरबन्दी राख्न उनीहरुले माग गरेका थिए । यसैगरी प्रदेशमा कार्यरत स्वास्थ्यका अधिकारी र कर्मचारीहरुले मन्त्रालयमा प्रशासनतर्फको सचिव राख्न थालिएको भन्दै स्वास्थ्य सेवातर्फको सचिव बनाउन दबाब दिएका थिए । तर, उनीहरुको मागभन्दा विपरीत भएपछि विरोध भएको हो ।

मन्त्रालयले प्रस्तावित दरबन्दी तेरिजमा मन्त्रालयमा संघीय सेवाको राजपत्रांकित प्रथम तहको सचिव रहने उल्लेख छ । यस्तै, मन्त्रालयमा ९/१० औं तहको अधिकृतस्तरको प्रशासनतर्फकै उपसचिव रहने सांगठिक संरचनामा छ । त्यसपछि मात्र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई मन्त्रालयको प्रस्ताविक सांगठनिक संरचनामा स्थान दिइएको छ ।

प्रदेशका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवातर्फको सचिव नराखिए प्रदेशकै आकस्मिकबाहेकको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । तर, मन्त्रालयले उक्त चेतावनीलाई बेवास्ता गर्दै प्रशासनतर्फकै सचिव रहने दरबन्दी प्रस्ताव गरेको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको वरिष्ठ जनस्वास्थ्य निरीक्षक (हेई) ९/१० औं तह १ जना, वरिष्ठ उपस्वास्थ्य प्रशासक ९/१० औं १ जना, आयुर्वेद चिकित्सक ८ औं तह १ जना, अधिकृत प्रशासन ७/८ औं तह २ जना, न्याय सेवाको कानून अधिकृत १ जना, लेखा अधिकृत प्रशासन लेखा समूहको ७/८ औं तहको १ जना, जनस्वास्थ्य अधिकृत (हेई) ७/८ औं तहको एक जना, जनस्वास्थ्य शिक्षा अधिकृत (हेए) ७/८ औं तहको १ जना प्रस्ताव गरिएको छ ।

यस्तै कम्युनिटी नर्सिङ अधिकृत ७/८ तहको १ जना, फार्मेसी अधिकृत ७/८ तहको १ जना, सहायक/अधिकृत प्रशासनतर्फको ५/६ औं तहको २ जना, सहायक कम्प्युटर ४/५ औं तहका २ जना, सह लेखापाल प्रशासन लेखाको ४/५ औं तहका १ जना, हसचा तहबिहीन ३ जना, कार्यालय सहयोगी तहविहीन ४ जना गरी कुल २५ जनाको प्रस्तावित दरबन्दी तयार पारिएको छ।

गोदानले बागमती प्रदेशमा गठन गरिएको स्वास्थ्य मन्त्रालयको प्रस्तावित दरबन्दीमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य ज्ञान नभएको व्यक्तिलाई मन्त्रालयको प्रशासनको नेतृत्व दिनु हास्यास्पद र गैरजिम्मेवार भनेको छ । त्यसैगरी नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीकै नेतृत्वमा स्वास्थ्य मन्त्रालय सञ्चालन हुनुपर्ने र सोही बमोजिमको मेडिकल अधिकृतसहित विशेषज्ञ चिकित्सकहरुको दरबन्दी सुनिश्चित गर्न महाशाखा, विभाग, शाखाको उचित व्यवस्था गर्ने गरी हाल प्रस्तावित गरिएको दरबन्दी तुरुन्त सच्याउन उनीहरुले माग गरेको छ ।

२७,भाद्र.२०७८,आईतवार १५:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्