नेपालमा थप ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् । शनिबार ९९४ जना संक्रमित थपिएका थिए । ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यही अवधिमा १४२३ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।

यता, कोभिड–१९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९४९ रहेको छ । पछिल्लो २४ घण्टामा थप १० हजार ४४९ जनाले खोप लगाएका छन् ।

यो पनि पढ्नुहोस  पाँच बर्षभित्र काठमाडौँ–रक्सौल रेलमार्ग बन्ने
२७,भाद्र.२०७८,आईतवार १६:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: